नेपालगञ्ज (बाँके) । साउदी अरब जाने तयारीमा रहँदा स्वास्थ्य परीक्षणका कारण वैदेशिक रोजगारीमा जान नपाएपछि स्वदेशमै बाख्रापालन सुरु गर्नुभएका राप्तीसोनारी गाउँपालिका–६ का डम्बर बुढाक्षेत्री अहिले यसै व्यवसायबाट आत्मनिर्भर बन्नुभएको छ ।
उहाँले अहिले ६० भन्दा बढी स्थानीय खरी जातका बाख्रा पाल्नुभएको छ । बाख्रापालनबाट हालसम्म रु तीन लाख आम्दानी गर्नुभएका उहाँले पुरानो ऋण चुक्ता गर्नाका साथै दुई छोराको पढाइ खर्च र पारिवारिक आवश्यकता पूरा गर्दै आउनुभएको छ ।
वर्षमा आठदेखि १० वटासम्म खसी बिक्री गर्दै आउनुभएका उहाँले यस वर्ष रु पाँच लाखभन्दा बढी आम्दानी हुने अपेक्षा गर्नुभएको छ । माउ बाख्रा बिक्री नगरी सङ्ख्या बढाउने योजनामा रहनुभएका उहाँका अनुसार खसी बिक्री गर्न बजारको समस्या छैन । सहकारीले खसी खरिद गर्ने र आवश्यक पर्दा अग्रिम रकम उपलब्ध गराउने भएकाले कारोबार सहज भएको छ ।
वैदेशिक रोजगारीमा जाने योजना सफल नभएपछि बाख्रापालनमा लाग्नुभएका बुढाक्षेत्रीले पारिवारिक समस्याका कारण बीचमा यो व्यवसाय छाडेर तीन वर्ष भारतमा बिताउनुपरेको थियो । बुबाआमाको उपचार र निधनपछि लागेको ऋण तिर्न भारत जानुभएका उहाँ फर्किएपछि पुनः पशुपालनमा सक्रिय हुनुभयो । पहिले आठवटा भैँसी पनि पाल्नुभएका उहाँले पछि भैँसी बिक्री गरेर बाख्रापालनलाई प्राथमिकता दिनुभयो । पशुपालनबाटै ऋण चुक्ता गर्न सफल भएको उहाँले बताउनुभयो ।
‘म यसैमा सन्तुष्ट छु । विदेश गएको भए राम्रो हुन्थ्यो भन्ने लागेको छैन,’ उहाँले भन्नुभयो ।
आफ्नो क्षमता र अवस्थाअनुसार सानो लगानीबाट व्यवसाय सुरु गर्नुपर्ने सुझाव दिँदै उहाँले अरूको देखासिकी गरेर एकैपटक ठूलो लगानी गर्न नहुने बताउनुभयो । बाख्रापालनलाई नै आफ्नो भविष्यको आधार बनाउनुभएका उहाँले स्थानीय जातका बाख्राको सङ्ख्या बढाउने योजना बनाउनुभएको छ ।





