काठमाडौं, २१ कात्तिक। सर्वोच्च अदालतको न्यायाधीश पदका लागि प्रस्तावित चारै जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ।
Advertisement
न्यायपरिषद्ले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दसहित चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो।
प्रस्तावित चारै न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा १३ वटा उजुरी परेका थिए। समितिले उनीहरूमाथि शुक्रबार र शनिबार सिंहदरबारस्थित समितिको कार्यालयमा सुनुवाइ गरेको थियो।
उजुरीकर्ताहरूले उठाएका विषयमा छलफल तथा प्रस्तावित न्यायाधीशहरूको जवाफ सुनेपछि समितिले चारै जनाको नाम अनुमोदन गर्ने निर्णय गरेको हो।
समितिको अनुमोदनसँगै उनीहरूको सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिको प्रक्रिया अघि बढ्नेछ।





