एम्स्टर्डम — अत्यधिक ऊर्जा र पानी खपत गर्ने डेटा सेन्टरको वातावरणीय तथा सामाजिक प्रभावको विरोधमा युरोपका १५ देशमा प्रदर्शन चर्किएको छ ।
नेदरल्यान्ड्सको एम्स्टर्डममा शुक्रबार प्रदर्शनकारीहरू माइक्रोसफ्टको नयाँ डेटा सेन्टर निर्माणस्थलमा प्रवेश गरी निर्माण कार्य रोक्न माग गरेका छन् । केही प्रदर्शनकारी क्रेनमा चढेर आगो बाल्नुका साथै प्रहरीसँग झडपमा उत्रिएका थिए । घटनामा प्रहरीले १५० देखि २०० जनासम्मलाई नियन्त्रणमा लिएको जनाएको छ ।
‘स्टप डर्टी डेटा सेन्टरिज’ अभियानअन्तर्गत आयरल्यान्ड, पोल्यान्ड, जर्मनी, डेनमार्क, फ्रान्स, बेलायतसहित १५ युरोपेली देशमा प्रदर्शन भएका छन् । प्रदर्शनकारीहरूले डेटा सेन्टर निर्माणमा वातावरणीय प्रभावको बेवास्ता गरिएको, पर्याप्त सार्वजनिक परामर्श नभएको र ऊर्जा तथा पानीको अत्यधिक खपत भइरहेको आरोप लगाएका छन् ।
जर्मनीको बर्लिन र पोल्यान्डको संसद् भवन अगाडि पनि प्रदर्शन भएको छ भने इटालीमा समेत आन्दोलन तीव्र बन्दै गएको छ । प्रदर्शनकारीहरूले नयाँ डेटा सेन्टर परियोजनामा रोक लगाउन र यस उद्योगलाई नियमन गर्न सरकारसँग माग गरेका छन् ।
कृत्रिम बौद्धिकता (एआई) तथा क्लाउड कम्प्युटिङको विस्तारसँगै बढिरहेका डेटा सेन्टरको वातावरणीय प्रभावलाई लिएर युरोपभर जनआक्रोश बढ्दै गएको छ ।





