काठमाडौँ । २०८३ कात्तिक १३ गते शुक्रबार । जब साँझ पर्न थाल्यो, प्रहरी एकाएक सक्रिय भयो, अपराधी पक्राउन गर्न होइन, पत्रकार पक्राउ गर्न ।
प्रहरीले डिएनए खबरका प्रधानसम्पादक धीर बस्नेतलाई दिउँसै उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु बोलाएको थियो, इसेवा स्क्यामको नाममा । त्यसपछि उसले मोटिभेट न्युजका प्रधानसम्पादक शोभराज बराललाई पक्राउ गर्यो, त्यो पनि न्युजरुममै पुगेर । अबको पालो नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीको थियो । उनलाई पनि नयाँबानेश्वरस्थित न्युजरुममै पुगेर प्रहरीले पक्राउ गर्यो ।
त्यतिले मात्रै पुगेन, प्रहरी नयाँपत्रिका दैनिकको कार्यालय पुतलीसडक पुग्यो, पत्रकार नवराज मैनालीलाई पक्राउ गर्न । त्यस्तै प्रहरी दियो पोस्टको कार्यालय पनि पुग्यो, अर्का पत्रकार सुदीप विश्वकर्मालाई पक्रिन । नेपाल प्रेसका अध्यक्ष विन्दुराज लम्साल र प्रधानसम्पादक मातृका पौडेलसित प्रहरीले टेकु बोलाएर सोधपुछ गर्यो ।
आश्चर्यको विषय त यो छ, यतिका घटनाक्रम हुँदा प्रधानमन्त्री कार्यालयलाई जानकारी नै छैन भनियो । प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले यी घटनाक्रममा प्रधानमन्त्री र प्रधानमन्त्रीको कार्यालयको कुनै संलग्नता नरहेको बताइन् ।
‘आज जेजति घटनाक्रम विकास भएका छन् । यी घटनाक्रममा सम्माननीय प्रधानमन्त्रीज्यू, सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कुनै पनि संलग्नता छैन’ दाहालले भनिन्– ‘हामीलाई यसबारे कुनै जानकारी छैन ।’
प्रहरी गृहमन्त्रालयअन्तर्गत परिचालन हुन्छ अर्थात् प्रहरीको ताललुकवाला मन्त्रालय हो गृह तर अर्को आश्चर्य छ, उसलाई पनि यसबारे थाहा छैन ।
तीन जना पत्रकारहरू पक्राउ परेको विषयमा मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले भने ‘थप बुझ्नुपर्ने’ प्रतिक्रिया दिन्छन् ।
प्रवक्ता काफ्ले भन्छन्– ‘यस विषयमा मलाई जानकारी छैन भन्दिनँ तर थप बुझ्नुपर्छ ।’
प्रधानमन्त्री, प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय, त्यसकै एउटा अङ्ग नेपाल प्रहरीमाझको यस्तो अवस्था पक्कै पनि चिन्ताको विषय हो । यसरी तालुकवालामाझ नै एकअर्कामा तालमेल नहुने हो भने देशको सुरक्षा अवस्था कस्तो हुन्छ ? साँच्चै नेपालको सुरक्षा अवस्था कस्तो छ भन्ने बुझ्न यही उदाहरण काफी छ ।
अन्तमा एउटा प्रश्न अरू उठेको छ : के यस्तो तालमेलको अभावका कारणले गत वर्ष भदौ २४ मा देश जलेको थियो ?





