काठमाडौँ । प्रेस काउन्सिलले पत्रकार पक्राउको विरोध गरेको छ । वरिष्ठ प्रशासकीय अधिकृत तथा प्रवक्ता दीपक खनालको हस्ताक्षरमा २०८३ कात्तिक १३ गते प्रेसविज्ञप्ति जारी गर्दै काउन्सिलले सो घटनाको विरोध गरेको हो ।
विज्ञप्तिमा शुक्रबार सरकारी कार्यालय समय सकिएपछि विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी सादा पोसाकका प्रहरीले
पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको बताइएको छ ।
काउन्सिलले पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको, अदालतको अनुमति लिइएको नदेखिएको तथा अपराधको जाहेरी परेको विषयसमेत स्पष्ट नभएको अवस्थामा लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि यसरी पत्रकारलाई नियन्त्रणमा लिइनु गम्भीर आपत्तिको विषय भएको उल्लेख गरेको छ ।
‘प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएको यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ’ काउन्सिलले विज्ञप्तिमा भनेको छ– ‘सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीप्रति असहमति वा आचारसंहितासम्बन्धी उजुरी भएमा त्यसको छानबिन, अनुगमन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिल नेपालको हो । समाचारकै विषयमा सिधै प्रहरी परिचालन गर्नुको सट्टा काउन्सिलको स्थापित विधि र प्रक्रियाबाट समाधान खोज्न नेपाल सरकार, प्रहरी प्रशासन तथा सम्बद्ध सबै पक्षलाई काउन्सिल आग्रह गर्दछ ।’
काउन्सिलले नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न तथा कानुनी आधारविना नियन्त्रणमा राखिएको भए तत्काल रिहा गर्न आग्रह गरेको छ ।
अर्कोतर्फ काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित रही पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गरेको छ । काउन्सिल प्रेस स्वतन्त्रताको संरक्षण र मर्यादित पत्रकारिताको संवद्र्धनका लागि सदैव प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।






