बोगोटा । आपराधिक समूहसँग जोडिएका हिंसात्मक घटना बढेपछि कोलम्बियाका राष्ट्रपति अबेलार्डो डे ला एस्प्रियेलाले भेनेजुयलासँग सीमा जोडिएको कुकुटा सहरमा अस्थायी रूपमा सेना परिचालन गर्न आदेश दिएका छन् ।
नोर्ते डे सान्तान्देर विभागको राजधानी कुकुटामा पछिल्ला केही दिनयता मेयर पदका उम्मेदवारको हत्या हुनुजस्ता घटना घटेपछि सेना परिचालनन गरिएको हो ।
सो स्थानमा बमविस्फोटमा चार प्रहरी अधिकारी घाइते भएका छन् । स्थानीय सरकारका अनुसार यी घटनापछि सहरको सुरक्षा अवस्था तनावपूर्ण बनेको छ ।
राष्ट्रपति एस्प्रियेलाले सार्वजनिक व्यवस्था सामान्य अवस्थामा फर्काउन कुकुटामा तत्काल सेना परिचालन गर्न निर्देशन दिएका हुन् । उनले सार्वजनिक सुरक्षा अवस्था स्थिर भएपछि यो व्यवस्था हटाइने स्पष्ट पारेका छन् ।
यस आदेशसँगै सहरमा प्रहरी तथा सैनिक कर्मचारी परिचालन गरिनेछ । गत अगस्ट ७ मा पदभार सम्हालेयता राष्ट्रपति एस्प्रियेलाले यस्तो कदम चालेको यो दोस्रोपटक हो । यसअघि लागुऔषध तस्करीमा संलग्न समूहले व्यवसाय तथा सवारीसाधनमा हिंसात्मक आक्रमण गरेपछि लोकप्रिय पर्यटकीय गन्तव्य सान्ता मार्ता सहरमा पनि सेना परिचालन गरिएको थियो ।
कोलम्बिया र भेनेजुएलाबिचको दुई हजार दुई सय किलोमिटर लामो सीमावर्ती क्षेत्रमा लागुऔषध तस्करी, अवैध खनन तथा अन्य तस्करीमा विभिन्न सशस्त्र समूह संलग्न छन् । तीमध्ये विघटित फार्कका असन्तुष्ट सदस्य र नेसनल लिबरेसन आर्मी (इएलएन) पनि रहेका छन् ।
कोलम्बियाका सशस्त्र समूह विरुद्ध कडा कारबाही गर्ने प्रतिबद्धतासहित पदभार सम्हाल्नुभएका राष्ट्रपति डे ला एस्प्रियेलाले त्यसयता देशभर बम विस्फोट तथा सुरक्षा निकायका स्थलगत कारबाही बढाउँदै आएका छनन् । (रासस/एएफपी)





