रोम । शिक्षा क्षेत्रमा बजेट वृद्धि, आवास सुविधा र जीवनयापनको बढ्दो खर्च नियन्त्रणको माग गर्दै हजारौँ विद्यार्थी शुक्रबार इटालीका विभिन्न सहरमा सडकमा उत्रिएका छन् । सम्भावित झडप रोक्न सुरक्षा निकाय सतर्क रहेका छन् ।
विद्यार्थीले केही सातादेखि विद्यालय कब्जा गर्ने र पाल टाँगेर शिविर स्थापना गरी विरोध गर्दै आएका छन् । उनीहरूले प्रधानमन्त्री जर्जिया मेलोनी सरकारको पुन:शस्त्रीकरण नीति, शिक्षामा बजेट कटौती र बढ्दो महँगीको विरोध गरेका छन् ।
यता ट्रकचालक र किसानले पनि इन्धनको मूल्यवृद्धि तथा जीवनयापनको लागत विरुद्ध प्रदर्शन गरिरहेका छन् ।
प्राध्यापक रोजारियो फोर्लेन्जाका अनुसार आर्थिक, सामाजिक तथा सांस्कृतिक सङ्कटले युवामा अनिश्चितता र भविष्यप्रतिको निराशा बढाएको छ । राजनीतिक रूपमा पर्याप्त प्रतिनिधित्व नपाएको र नेतृत्वले आफ्ना समस्या बेवास्ता गरेको उनीहरूको गुनासो छ ।
मध्यपूर्वको युद्धका कारण इन्धन महँगिएपछि प्रभावित ट्रक चालक, किसान र माछा मार्नेहरूका लागि सरकारले १७ करोड ५२ लाख युरोको सहायता प्याकेज स्वीकृत गरेको छ । सन् २०२७ को प्रस्तावित बजेटमा ३० वर्षमुनिका श्रमिकलाई वार्षिक दुई हजार पाँच सय युरो बोनस दिने योजना पनि समेटिएको छ ।
प्रधानमन्त्री मेलोनीले सरकारी उपायले राज्यबाट उपेक्षित महसुस गरिरहेका युवालाई सहयोग पुग्ने आशा व्यक्त गरेका छन् तर तोडफोडमा संलग्न हुनेहरूका लागि ती सुविधा नभएको उनले स्पष्ट पारे ।
मनोचिकित्सक म्याटिओ लान्सिनीले विद्यालयहरू युवाका आवश्यकताबाट टाढिएको बताउँदै पेन्सन प्रणालीभन्दा युवाको आवश्यकता केन्द्रमा राखेर शैक्षिक प्रणालीमा आधारभूत परिवर्तन गर्नुपर्नेमा जोड दिए । सामाजिक सञ्जाललाई मात्र दोष दिएर युवाको असन्तुष्टिको वास्तविक कारणबाट उम्कन खोजिएको उनको टिप्पणी छ । (रासस/एएफपी)





