सन्तोष गौतम, बेनी ।
ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक उपचार गर्नका लागि म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको सिँगा–तातोपानी कुण्डमा आए । बडादसैँतिहारको बिदा र चिसो बढ्न थालेसँगै यस कुण्डमा स्नान गर्ने पाहुनाको चहलपहल बढेको हो ।
‘पहिलोपटक श्रीमतीलाई लिएर आएको थिएँ । १५ दिनसम्म तातोपानीमा डुबेपछि उहाँको स्वास्थ्यमा राम्रो सुधार भयो । त्यसपछि म पनि ढाड दुख्ने समस्या कम हुने आशाले यहाँ आएको हुँ’ सुवेदीले भने ।
सुवेदीजस्तै देशका विभिन्न स्थानबाट स्वास्थ्य सुधार हुने आशा लिएर सिँगा तातोपानी कुण्डमा आउनेको सङ्ख्या बढ्दै गएको छ ।
बागलुङ नगरपालिका–५ का केशवबहादुर केसी २०५८ सालमा दुर्घटनामा परेर खुट्टा भाँचिएपछि लामो समयदेखि दुखाइको समस्या भोग्दै आएका छन् । शिक्षक पनि रहेका केसी विगत १० वर्षदेखि हरेक वर्ष बडादसैँतिहारको बिदामा सात दिनका लागि तातोपानी कुण्डमा स्नान गर्न आउँछन् । कुण्डमा डुबेपछि दुखाइ कम हुने गरेको उनको अनुभव छ ।
काठमाडौँकी राधादेवी शर्मा पनि २०६३ सालदेखि हरेक वर्ष तातोपानी कुण्डमा स्नान गर्न आउने गर्छिन् । नसा च्यापिने र कम्मर दुख्ने समस्या भएपछि कुण्डमा आउन थालेको उनले बताइन् । आमाबुबा र छिमेकी यहाँ आएर स्नान गरेको अनुभव सुनाउँदै उनले तातोपानीले शरीर हलुका हुने र ग्यास्ट्रिकको समस्या कम भएको बताए ।
‘घरमा बाथटब बनाएर तातोपानीमा डुब्नु र यहाँ प्राकृतिक रूपमा निस्किएको तातोपानीमा शरीर डुबाएर स्नान गर्नुमा फरक छ । यहाँको वातावरण र प्राकृतिक पानीले थप सहज महसुस हुन्छ’ शर्मा भन्छिन् ।
दुखाइ कम हुने आशा
बागलुङका सरिता केसीका लागि सिँगा तातोपानी कुण्डको अनुभव नयाँ हो । छिमेकीबाट कुण्डबारे जानकारी पाएपछि उनी यसपालि बडादसैँको बिदा मिलाएर यहाँ आएकी हुन् । बडादसैँअघि स्कुटर दुर्घटनामा परेपछि औँलाको नसा च्यापिने र टाउको दुख्ने समस्या भएपछि स्नान गर्न आएको उनले बताइन् । कुण्डमा स्नान गरेपछि दुखाइमा सुधार भएको र शरीरमा स्फूर्ति आएको उनको अनुभव छ ।
पर्वतको कुश्मा नगरपालिका–११ पकुवाकी सीता तिमिल्सिना चार वर्षदेखि नियमित रूपमा तातोपानी कुण्डमा आउँछिन् । चिसो बढ्दा दमको समस्या बल्झिने गरे पनि यहाँ स्नान गरेपछि सहज महसुस हुने उनले बताइन् । आफ्नो स्वास्थ्यमा सुधार भएको अनुभवपछि आफन्त र दिदीबहिनीलाई स्नान गराउन ल्याएको उनको भनाइ छ ।
पाल्पाको रम्भा गाउँपालिका–४ की मनिषा भट्टराई पौडेल पनि यसपालि दोस्रोपटक कुण्डमा आएकी हुन् । गत वर्ष पहिलोपटक कुण्डमा स्नान गरेको केही समयपछि नसासम्बन्धी समस्यामा सुधार भएको उनको अनुभव छ ।
‘जेठाजू र जेठानीको सल्लाहमा गत वर्ष पहिलोपटक यहाँ आएकी थिएँ । स्नान गरेपछि स्वास्थ्यमा सुधार भयो । यसपालि आमा र परिवारका अन्य सदस्यसहित पाँच जनाको टोली आएका छौँ’ पौडेलले भनिन् ।
उनका श्रीमानलाई पनि युरिक एसिड र ग्यास्ट्रिकको समस्या थियो । कुण्डमा स्नान गर्न थालेपछि स्वास्थ्यमा सुधार भएको उनले बताए ।
म्याग्दीको मालिका गाउँपालिका–४ का फाले सुनारले पनि तातोपानीमा स्नान गर्दा अस्पताल आउजाउ गर्न र औषधी किन्न लाग्ने खर्च तथा समय बचत भएको अनुभव सुनाए ।
दैनिक सात सयसम्मले गर्दैछन् स्नान
सिँगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काका अनुसार बडादसैँलगत्तै दैनिक छ सयदेखि सात सय जनासम्मले कुण्डमा स्नान गरिरहेका छन् । विगतका वर्षमा असोज र कात्तिक महिनामा दैनिक एक हजार पाँच सयसम्म स्नान गर्न आउने गरेका थिए ।
‘कुण्डमा एकपटकमा दुई सय ५० जनासम्मले स्नान गर्न मिल्छ । महिला र पुरुषका लागि छुट्टाछुट्टै समयतालिका बनाइएको छ’ अध्यक्ष खड्काले भने ।
गत वर्ष नेपालका ७७ ओटै जिल्लाका साथै विदेशबाट पनि गरी २१ हजारभन्दा बढी व्यक्ति प्राकृतिक तातोपानीमा स्नान गर्न आएको कुण्ड व्यवस्थापन समितिका कर्मचारी रेशम कार्कीले जानकारी दिए ।
उनका अनुसार बिहान ५:३० देखि साँझ ५:३० बजेसम्म महिला र पुरुषका लागि छुट्टाछुट्टै समूह बनाएर स्नानको व्यवस्था मिलाइएको छ । असोजदेखि वैशाखसम्मको समयलाई तातोपानी कुण्डमा स्नान गर्ने मुख्य यामका रूपमा लिइन्छ ।
म्याग्दी नदीको किनारमा प्राकृतिक रूपमा निस्कने तातोपानीलाई पोखरीमा सङ्कलन गरेर स्नान गर्ने व्यवस्था मिलाइएको छ । करिब ५० डिग्री सेल्सियस तापक्रममा निस्कने पानीमा बिरेनुनको जस्तो गन्ध आउने कुण्ड व्यवस्थापन समितिका सचिव अमर केसी (कुमार) ले बताए ।
स्थानीयवासी तथा यहाँ आउने पाहुनाले तातोपानीमा स्नान गर्दा छाला, बाथ, ग्यास्ट्रिक तथा चोटपटकका कारण हुने दुखाइमा राहत मिल्ने विश्वास गर्छन् । स्नानसँगै तातोपानी पिउने चलन रहेको छ ।
कुण्डमा सात दिन स्नान गर्न प्रतिव्यक्ति रु तीन सय ५० र नौ दिनका लागि रु पाँच सय शुल्क निर्धारण गरिएको छ । प्रवेश शुल्कबाट उठेको रकमको १३ प्रतिशत सरकारलाई कर र २५ प्रतिशत बेनी नगरपालिकालाई बुझाउने गरिएको समितिले जनाएको छ । (रासस)





