काठमाडौँ । बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’ क्रमश: कमजोर हुँदै गएको छ । फेरि पनि यसको आंशिक असरले नेपालमा कात्तिक १२ गतेदेखि १४ गतेसम्म वर्षा र हिमपात गराउने पूर्वानुमान गरिएको छ ।
यसको प्रभावका कारण केही स्थानमा भारी वर्षा तथा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
महाशाखाका अनुसार चक्रवात ‘अर्नब’ बुधबार बिहान करिब ८:१५ बजे भारतको आन्ध्रप्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको थियो । जमिनमा प्रवेश गरेपछि यो उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै क्रमश: कमजोर हुँदै गएको छ ।
सुरुमा ‘अत्यन्त भीषण चक्रवाती आँधी’ को श्रेणीबाट घटाएर ‘भीषण चक्रवाती आँधी’ श्रेणीमा झारिएको छ । आज यो थप कमजोर हुँदै गहिरो न्यूनचापीय प्रणाली (डिप डिप्रेसन) मा परिणत हुने सम्भावना छ ।
नेपालमा असर
गहिरो न्यूनचापीय प्रणालीको प्रभावका कारण आजैदेखि नेपालको वायुमण्डलमा माथिल्लो तहका बादल देखिन थालेका छन् । भोलि यसको प्रभाव थप बढ्ने अनुमान छ ।
महाशाखाका अनुसार यसको प्रभावले कात्तिक १२ गते साँझदेखि १४ गतेसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्छ ।
यस अवधिमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा पनि भारी वर्षा तथा हिमपातको सम्भावना छ ।
मौसमविद विभूति पोखरेलका अनुसार चक्रवातको अवशेषले पर्याप्त जलवाष्पयुक्त हावा बोकेर ल्याउने र माथिल्लो वायुमण्डलको प्रणालीसँग अन्तरक्रिया गर्ने भएकाले नेपालमा वर्षा र हिमपातको पूर्वानुमान गरिएको हो । उनका अनुसार यसबाट उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहन्छ ।
सतर्कता अपनाउन आग्रह
सम्भावित वर्षा र हिमपातलाई ध्यानमा राख्दै कात्तिक १४ गतेसम्म धानबाली सुरक्षित राख्न र पदयात्रा नगर्न महाशाखाले आग्रह गरेको छ । यस अवधिमा पर्यटकलाई उच्च हिमाली भूभागमा नजान र त्यस्ता क्षेत्रमा पुगिसकेको भए सुरक्षित स्थानमा रहन भनिएको छ ।
महाशाखाकी मौसमविद बिनु महर्जनले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेकाले विशेष सतर्कता अपनाउनुपर्ने बताइन् ।
वर्षा र हिमपातका कारण चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान तथा सडकछेउमा पहिरो जान सक्ने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न पनि महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ ।





