डा. गोविन्दप्रसाद आचार्य
मन्दिरका मूर्ति भन्छन् दलितले कुँदेका
हामी देउता दलितले आकार दिएका
हातले नछोई यो रूपमा हामी त्यससै आएनौँ
हाम्मलाई कुँद्ने दलित भन्छन् पुज्न पाएनौँ
तिनको सिप हामी देउता सम्मानित हुने रे !
हाम्लाई आकार दिनेहरू पस्नुहुन्न रे !
पस्न मात्र कहाँ हो र हेर्न पनि हुन्न रे !
मन्दिरको वरिपरि जान हुन्न रे !
मूर्ति भन्छन् हाम्लाई कुँद्ने दलितका हात हुन्
कसले हो र बनाएको तिम्रा कानको सुन
नाकमा लाउने स्वर्णपुष्पी दलितहातको पसिना
कला बुट्टा झिक्यो कस्ले भन गहना
शिरदेखि पाउँसम्म दलित सिप पैरेका
सिपका धनी दलितलाई खेदो गरेका
सिप प्यारो मान्छे हेला नियम उल्टो चल्छ र ?
बनाउनेलाई हेला गर मूर्ति भन्छ र ?
तिनै हातले बनाएको तिम्रो पानीधारो हो
पानीधारो बनाउने जात किन तारो भो
मानिसले बनाउने हो मानवस्य संसार
सबैलाई चल्न मिल्ने हुन्छ संस्कार
देउता पनि खल्तीभित्र राखे धुर्तहरूले
छुन पुज्न हुन्न किन बनाउने जातले
घरका कोठा चोटा सबै बनाउन पस्ने जात
त्यै जातमा गर्छौं किन घात बज्रपात
त्यै जातलाई नहिँड् भन्छौ घरछेउको बाटोमा
तै जातलाई नखा भन्छौ पानी धारोमा
हातमा सिप नहुनेले हिम्सारूप चलाउँछ
समाजलाई उल्टो गतितिर घुमाउँछ
समाज उल्टो हिडाउनेलाई तिनै घनले ठोक्ने हो
ठोकी कन दिमागलाई आकार दिने हो
मानवीय संसारका बाधाहरू तिनै हुन्
आखिरीमा घनको चोट खाने तिनै हुन्
तिमी राजा–महाराजा कस्को बलमा बन्याछौ
बदलिने समाजको चोट खान खोज्या छौ
नदी स्तो हुन्छ समाज बग्न बाटो बनाउँछ
कालो संस्कार संसारको सबै उल्टिन छ
प्रतिवेदन यस्ता बन्छन् पीडकलाई बचाउने
घुमाइफिराइ प्रतिवेदन पीडित दबाउने
यो देशको इतिहासमा प्रतिवेदन धेरै छन्
जैले पनि पीडकहरू बच्ने ग¥या छन्
प्रतिवेदन लेख्ने को हो कालो सत्ता सजाउने
जसरी होस् पीडितलाई उल्लु बनाउने
प्रतिवेदनबाट कसले न्याय पायो भन न
जैले पनि सत्ता लाग्यो पीडित दबाउन
देश यति बिग्रेको छ बन्ने ठाउँ देखिन्न
निराशालाई पच्छ्याएर पछि हटिन्न
सिपालुले बनाउँछ देश सिप तिनै हातमा
सिप केही छैन जान ठग्ने जातमा
हल्लेका दाँत टल्काएर यो सत्ताले देखाउँछ
प्रतिवेदन नाटकले पीडित दबाउँछ
हातमा सिप नहुनेको इज्जत ठुलो मानियो
काम गर्ने जातलाई दलित मानियो
काम गर्नेले नगर्नेको अधिनमा नबस
उल्टो कलम घुमाउनेको भरमा नफस
यो सत्ताको भर परे भ¥याङ मात्र बनाउँछ
झुटको खेती गर्ने सत्ता सिनो गनाउँछ
अदालतमा न्याय माग्दा दुःख दिन्छ हराउँछ
उठ दलित फन्काउ खुँडा बल्ल डराउँछ
डराउने मात्र हैन जालीझेली निर्खाने
मुक्ति पाउने राम्रो बाटो धार तिर्खाने
ज्यानमारा उम्काउन अनेक जुक्ति झिक्या’छ
पीडितलाई न्याय हैन छल्न खोज्या’छ
विगतको शासनले वर्तमान चलायो
बुभ्mनुप¥यो यो देशमा न्याय हरायो
दलितको कला, सिप तिमी बस्ने दरबार
कला, सिप बनाउनेको न्याय नमार
केको उन्माद चलेको हो बसिखाने वर्गलाई
हत्या, हिंसा बारम्बार निर्दोष दलितलाई
लाग्छ भने देशको कानुन सबैलाई समान
नयाँ कानुन बनाउने हो यसलाई नमान
अति भयो देशले फेरी विद्रोहलाई डाक्या’छ
यो सत्ताको तागत छैन पानी सुक्या’छ
विद्रोहको सही नीति यो देशले माग्या’छ
आउँ सारा गोलबन्द हौँ भन्नु प¥या’छ
मन्दिरका पुजारीलाई आन्दोलनमा ल्याउने हो
मूर्ति कुँद्ने कलाकारले पुज्न पाउने हो
निर्णायक लडाइँ त अझै लड्न बाँकी छ
यो बेथिति चुलिन्छ र आन्दोलन हुन्छ
दुष्टहरू जनताको भेल बाढीमा बग्ने छन्
छद्मभेषी रूपमा आए नयाँ रै’नछन्
समयका हरेक क्षण परीक्षण गर्ने हो
त्यहीबाट सत्य खोजी अघि बढ्ने हो
यो सत्ताले दिन्न न्याय घटनालाई छिपाउँछ
न निर्मला न त रुकुम दोषी बचाउँछ
सबै जनले हाम्रो भन्ने सत्ता ल्याउन बाँकी छ
होश राख जनक्रान्ति अझै जारी छ