ईरानराई ##
ए दिमाग !
तँ कहाँ गा’को थिइस् ?
छिमेकीका हर्कतहरु :
– संविधानमाथि अङ्कुश
– सिमाना मिच्याइ
– र सार्वभौमिकताप्रति नाकाबन्दी
माथिका यी सबै ऐठनहरु खपिरहँदा मैले
ए दिमाग
तँ कहाँ गा’को थिइस् ?
डोजरले सुकुमबासीहरुको जिन्दगी उजाड्दा
चर्को जरिवानाले निमुखाहरुको घाँटी निमोठ्ता
टाइसुटले स्वास्थ्य, शिक्षा र विद्युतमा अतिरिक्त कर थुपार्दा
ए दिमाग
तँ के गर्दै थिइस् ?
गाउँभरि, सहरभरि टाइफुनझैँ हावा कुरा फिजाउँदा
सामाजिक सञ्जालभरि छाडा शब्दहरु फैलाउँदा
राष्ट्रियता नै बेचेर कथित राष्ट्रवाद मौलाउँदा
ए दिमाग
तैँले किन सुनिनस् ?
महँगीले सगरमाथा नाघ्दा
बाढीपीडितलाई नबाँढिने राहत/क्षतिपूर्ति विश्वसँग माग्दा
सत्य विरूद्ध झुठहरु जाग्दा
ए दिमाग
तैँले किन देखिनस् ?
दिमागले हाँस्दै प्रतिप्रश्न गर्यो–
– तँ बलियो, कि म बलियो रहेछौँ
– ए घमन्डी खोपडी ?
२०८३ कात्तिक ८ गते शनिवार, बिहान ११ बजे
नमुनाटोल, रोड नं. ७, बेलबारी–१, मोरङ





