रिकाङपियो (हिमाचल प्रदेश, भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले हिमाचल प्रदेशमा कार्यरत नेपाली मजदुरका लागि दुर्घटना तथा स्वास्थ्य बिमा गर्न माग गरेको छ ।
मूल प्रवाह रिकाङपिओ नगर समितिको प्रतिनिधिमण्डलले किन्नोर जिल्लाका कलेक्टर साक्षी तोमरलाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो ।
ढिलो गरी प्राप्त समाचारअनुसार ज्ञापनपत्र बुझाउन हिमाचल राज्य समितिका सचिव मिथुन सिंह, रिकाङपिओ नगर समितिका कोषाध्यक्ष प्रकाश चन्द्र, नगर समितिका सदस्यहरू राजु र खेम बुढासहितको प्रतिनिधिमण्डल कलेक्टर कार्यालय पुगेको थियो ।
ज्ञापनपत्रमा हिमाचल प्रदेशको मुख्यत: किन्नोर जिल्लामा प्र्रत्येक वर्ष २५–३० हजार नेपालीहरू आउने गरेको बताउँदै उनीहरूले आधारभूत तथा सुरक्षासम्बन्धी सेवा नपाउने गरेको गुनासो गरिएको छ । हिमाचलमा विभिन्न क्षेत्रका निर्माण कार्य, फलफूलका बगैँचा, जलविद्युत् आयोजनालगायतमा काम गर्ने गरेको ज्ञापनमा उल्लेख छ ।
नेपाली मजदुरको सही तथ्याङ्क राखी अप्ठ्यारो पर्दाको परिस्थितिको सामना गर्नका लागि दर्ता प्रक्रिया सञ्चालन गर्नुपर्ने मूल प्रवाहको भनाइ छ । त्यस क्रममा किन्नौर जिल्लाका नेपाली कार्यरत रहेका स्थानमा प्रहरीचौकी स्थापना गरिनुपर्ने मागसमेत गरिएको छ ।
नेपालीहरू हिमाचल प्रदेशका कठिन कामहरू, जस्तै : पहरा काट्ने, गहु्रङ्गो भारी उठाउने, उचाइका बगैँचामा स्याउलगायतका फल टिप्ने काम गर्दा दुर्घटनामा पर्ने गरेको र त्यस क्रममा उनीहरूले क्षतिपूर्तिसमेत नपाउने गरेको स्पष्ट पार्दै मूल प्रवाहले त्यसका लागि स्वास्थ्यसँगै दुर्घटना बिमाको व्यवस्था गर्नुपर्ने माग गरेको छ ।
मूल प्रवाहले बुझाएको मागप्रति कलेक्टर तोमर सकारात्मक रहेको र प्रस्तुत मागलाई उपल्लो निकायमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेको क्षेत्रीय सचिव सिंहले युगदर्शनलाई बताउनुभयो ।







