काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले १९ बुँदाको आधारमा दुईमहिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु गरेको छ । २०८३ कात्तिक ७ गते पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर अभियानको उद्घाटन गरिएको हो ।
अभियानमा पार्टी समिति र जनवर्गीय तथा मोर्चा सङ्गठनको समायोजनको बाँकी काम सम्पन्न गर्ने सङ्गठित सदस्यता नवीकरण तथा विस्तार अभियान तीव्र रूपमा सञ्चालन गर्ने, पार्टीका बैठक, भेला, प्रशिक्षणलगायतका कार्यक्रम सञ्चालन गर्ने, जनता र पार्टीबिचको सम्बन्धलाई प्रगाढ बनाउन जनताकेन्द्रित विभिन्न कार्यक्रम सञ्चालन गर्ने, सांस्कृतिकलगायतका रचनात्मक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।
अभियानले लोकतान्त्रिक अधिकार, गणतन्त्र, संविधान, विधिको शासन, सुशासन, सामाजिक न्याय तथा जनजीविकाका सवालमाजनमत निर्माण गर्नेदेखि स्थानीय र प्रदेशसभाको निर्वाचनको तयारी गर्नेसम्मको लक्ष्य बनाएको छ ।
यस्तो छ अभियानका १९ बुँदा
१. नेपालको सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान तथा राष्ट्रिय हितको संरक्षण र सुदृढीकरणका लागि जनजागरण र जनसहभागिता सिर्जना गर्ने ।
२. लोकतान्त्रिक अधिकार, गणतन्त्र, संविधान, विधिको शासन, सुशासन, सामाजिक न्याय तथा जनजीविकाका सवालमाजनमत निर्माण गर्ने ।
३. महँगी, बेरोजगारी, भ्रष्टाचार, कालोबजारी, बेथिति, असुरक्षा तथा जनविरोधी गतिविधिका विरुद्ध जनताको आवाजलाई सङ्गठित गर्ने ।
४. राष्ट्रिय हित, स्वतन्त्र परराष्ट्र नीति, राष्ट्रिय सुरक्षा तथा बाह्य हस्तक्षेप र अनुचित चलखेलका विषयमा जनतालाई सचेत बनाउने ।
५. प्राकृतिक बिपद्, बाढीपहिरो, डुबान तथा अन्य बिपद्बाट प्रभावित जनताको उद्धार, राहत, क्षतिपूर्ति तथा पुन:स्थापनाका लागि प्रभावकारी पहल गर्ने ।
६. पार्टीका सम्पूर्ण सदस्यको सदस्यता नवीकरण गरी सदस्यता अभिलेखलाई अद्यावधिक र व्यवस्थित बनाउने ।
७. नयाँ सदस्यता विस्तारका सम्भावित क्षेत्र पहिचान गरी योग्य, प्रतिबद्ध र पार्टीको नीति तथा विधानप्रति प्रतिबद्ध व्यक्तिलाई पार्टीमा सङ्गठित गर्ने ।
८. पार्टी तथा जनवर्गीय सङ्गठनका बाँकी सङ्गठनात्मक समायोजन सम्पन्न गरी सबै तहका सङ्गठनलाई व्यवस्थित, सक्रिय, जिम्मेवार र परिणाममुखी बनाउने ।
९. टोल तथा बस्तीसम्म राजनीतिक–वैचारिक प्रशिक्षण र जनसम्बन्ध विस्तार गर्ने ।
१०. आगामी महाधिवेशनका लागि पार्टीसदस्य, शुभेच्छुक तथा जनताबाट राजनीतिक, वैचारिक, सङ्गठनात्मक, आर्थिक तथा कार्यशैलीसम्बन्धी सुझाव सङ्कलन गर्ने ।
११. पार्टीभित्र जिम्मेवारी निर्धारण, कार्यसम्पादन, अनुगमन, मूल्याङ्कन, प्रोत्साहन तथा सुधारको व्यवस्थित प्रणाली विकास गर्ने ।
१२. बाँकी रहेका जिल्ला, पालिका तथा वडा तहमा पार्टी कार्यालय स्थापना गरी सङ्गठनको स्थायी कार्यसम्पादन संरचना निर्माण गर्ने ।
१३. वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्रबिच नियमित, संस्थागत र लिखित रिपोर्टिङ प्रणाली लागु गर्ने ।
१४. पार्टीको प्रचार, प्रकाशन तथा डिजिटल सञ्चार प्रणालीलाई प्रभावकारी, तथ्यमा आधारित, व्यवस्थित र आधुनिक बनाउने ।
१५. पार्टीभित्र महिला, युवा, विद्यार्थी, श्रमिक, किसान, दलित, आदिवासी जनजाति, मधेसी, पिछडिएका तथा विभिन्न सामाजिक समुदायको अर्थपूर्ण सहभागिता र नेतृत्व विकासलाई प्रोत्साहन गर्ने ।
१६. देशभक्त, लोकतान्त्रिक, वामपन्थी, सामाजिक अभियन्ता, नागरिक समाज, बुद्धिजीवी तथा जनप्रतिनिधिसँग साझा जनसरोकारका विषयमा संवाद, सहकार्य र समन्वयको वातावरण निर्माण गर्ने ।
१७. स्थानीय तहदेखि केन्द्रसम्मको समग्र राजनीतिक परिस्थिति तथा विभिन्न राजनीतिक दल एवम् राजनीतिक शक्तिको अवस्था, भूमिका, प्रभाव र जनाधारको तथ्यगत अध्ययन गर्ने तथा आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा उनीहरूको सम्भावित भूमिका, स्थिति र प्रभावको वस्तुगत विश्लेषण गरी आवश्यक रणनीतिक आधार तयार गर्ने ।
१८. पार्टीको राजनीतिक कार्ययोजना, विचार र राजनीतिक कार्यक्रमवारे स्पष्ट पार्ने ।
१९. आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनका लागि आवश्यक तयारी गर्ने ।





