काठमाडौँ । काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उल्लङ्घन गर्ने तीन सय ३६ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
Advertisement
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार गएको २४ घण्टामा सो कारबाही गरिएको हो ।
कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने एक सय दुई, सिसी क्यामरामार्फत ३९, रातो बत्तीमा सवारीसाधन चलाउने २० चालकलाई कारबाही गरिएको जानकारी दिए ।
त्यस्तै तीव्र गतिमा सवारीसाधन चलाउने ५७, हर्न बजाएर सवारीसाधन चलाउने आठ, लेन अनुशासन पालन नगर्ने तीन, अवस्था ठिक नभएको दुई र अन्य कसुरमा एक सय पाँच सवारीसाधनलाई कारबाही गरिएको कार्यालयले जनाएको छ ।





