वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नियन्त्रण गर्न सीमा बन्द नगरे र अपराधमा संलग्न व्यक्तिहरूलाई देशबाट निष्कासन नगरे युरोपको अस्तित्व सङ्कटमा पर्ने चेतावनी दिनुभएको छ । उहाँले फ्रान्ससहित युरोपका विभिन्न देशमा देखिएको अशान्तिको मुख्य कारण आप्रवासन भएको दाबी गर्नुभएको छ ।
ह्वाइट हाउस बाहिर सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले फ्रान्सको समस्या शिक्षा वा घरेलु नीतिसँग नभई आप्रवासनसँग सम्बन्धित रहेको बताउनुभयो । उहाँले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई आफ्नो देशको सीमा बन्द गर्न आफूले वर्षौंअघि नै सुझाव दिएको उल्लेख गर्नुभयो ।
“फ्रान्समा जे भइरहेको छ, त्यो निकै दुःखद छ । यसको कारण आप्रवासन हो, विद्यालय वा अरू कुनै विषय होइन”, ट्रम्पले भन्नुभयो । उहाँले आफ्नो देशको संस्कृति, कला र सम्पत्तिप्रति सम्मान नराख्ने मानिसहरूलाई प्रवेश दिँदा फ्रान्सले समस्या भोगिरहेको दाबी गर्नुभयो ।
ट्रम्पले पेरिसको जनसाङ्ख्यिक संरचनामा परिवर्तन आउने उल्लेख गर्दै म्याक्रोनलाई सीमा नीतिबारे आफूले पटकपटक सचेत गराएको बताउनुभयो । अमेरिकाले आफ्नो सीमा बन्द गरेको तर फ्रान्सले त्यसो नगरेको उहाँको भनाइ थियो । फ्रान्सले ऊर्जा क्षेत्रमा पनि केही समस्या भोगिरहेको उल्लेख गर्दै उहाँले अन्य देशको तुलनामा त्यहाँको अवस्था राम्रो रहेको दाबी गर्नुभयो ।
युरोपको भविष्यबारे सोधिएको प्रश्नमा ट्रम्पले सीमा नियन्त्रण र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको निष्कासनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । “युरोपले आफ्ना सीमा बन्द गरेन र अपराधीहरूलाई निष्कासन गरेन भने युरोप समाप्त हुनेछ”, उहाँले भन्नुभयो । आफ्नो देशलाई घृणा गर्ने मानिसहरूलाई निष्कासन नगरे युरोपको अस्तित्व नै सङ्कटमा पर्ने उहाँको दाबी थियो ।
फ्रान्स र इटालीसहित विभिन्न युरोपेली देशमा देखिएको अशान्तिलाई पनि ट्रम्पले आप्रवासनसँग जोड्नुभयो । उहाँले ती देशमा भवन, कला र मानिसप्रति सम्मान नराख्ने व्यक्तिहरूका कारण समस्या बढेको दाबी गर्दै सीमा बन्द गर्न र त्यस्ता व्यक्तिहरूलाई निष्कासन गर्न आग्रह गर्नुभयो ।
फ्रान्सेली राष्ट्रपति म्याक्रोनले अशान्तिका कारणबारे ऊर्जा सङ्कट र अमेरिकी नीतिका व्यापक भूराजनीतिक प्रभावतर्फ सङ्केत गर्नुभएको सन्दर्भमा ट्रम्पको टिप्पणी आएको हो ।
यसैबीच, बोर्डो सहरको केन्द्रमा सप्ताहान्तमा गम्भीर अशान्ति र व्यापक लुटपाट भएपछि स्थानीय अधिकारीहरूले अभिभावकविहीन नाबालिगहरूका लागि एक सातासम्म रातिको समयमा बाहिर निस्कन प्रतिबन्ध लगाएका छन् । उक्त घटनापछि ट्रम्पले फ्रान्सको आप्रवासन नीतिको आलोचना गर्दै आफ्नो धारणा दोहो¥याउनुभएको हो ।





