अनुराग रोशन
श्रम र श्रमिक भन्नेबित्तिकै हाम्रो नेपाली समाज र अधिकांश व्यक्तिको मथिङ्गलमा खोलाको बगरमा गिटी कुट्ने, थाप्लोमा नाम्लो लगाएर भारी बोक्ने, चिल्ला कार हुँइकिने सडक बनाउने र ठुल्ठुला सिपङमल, कम्प्लेक्स र घरको निर्माण कार्यमा खट्ने ज्यामीमिस्त्रीको तस्बिर आउने गर्छ । तर समग्रमा आफूले काम गरेबापत् ज्याला लिने सबै मजदुर हुन्, चाहे त्यो डाक्टर, इन्जिनियर र पाइलट नै किन नहोउन् । अवश्य पनि योग्यता, क्षमता र सिपको आधारमा तिनीहरूबिच फरक होला, तर आत्मसम्मानको कोणबाट यिनीहरू सबै समान हुन् । किनकि आत्मसम्मानको मूल्य कसैको धेरै, कसैको थोरै भन्ने हुँदैन, सबैको बराबर हुन्छ ।
आज हाम्रो नेपाली समाज पुँजीवादी युगको सुरुवाती चरणमा प्रवेश गर्दै छ, जसको कारण आफूभन्दा फरक क्षमता र फरक काम गर्नेलाई कमसल ठान्ने, मौका पाएसम्म आफूभन्दा कमजोरलाई दबाउन खोज्ने र अरूको मूल्याङ्कन उसको सिप, कला, क्षमता र योग्यताको आधारमा नभई उसको आर्थिक अवस्थाको आधारमा गर्ने चरम पुँजीवादी चरित्र र चिन्तनको विकास भइरहेको छ, जुन चरित्र र चिन्तन विद्यमान हाम्रो समाजका लागि मात्र होइन, भविष्यमा पनि मानव समाजको निम्ति ठुलो समस्या बनेर उभिने निश्चित छ ।
यस्तो चिन्तन प्रणालीको विकासका कारण आज पैसाको अगाडि एकर्काबिचको भाइचारा सम्बन्ध र मानवता नै निरीह बन्दै गइरहेको छ । मानवतालाई भन्दा बढी पैसालाई महत्व दिने संस्कारले आज समाजको जुनसुकै तह र तप्काका मानिसलाई नराम्रोसँग गिजोलिरहेको छ, जसको कारण जसरी हुन्छ, वैधानिक÷अवैधानिक बाटो प्रयोग गरेर भए पनि पैसा जम्मा गर्नुपर्छ । किनकि आफूसँग प्रशस्त पैसा भयो भने मात्र यो समाजमा इज्जत पाइन्छ । पैसा कमाउन नसक्नेहरू यो समाजको सबैभन्दा कमजोर र प्रतिष्ठाविहीन मान्छे हुन् भन्ने मानसिकताले घर गरेको छ । यो दृष्टिकोणबाट परिचालित समाज र व्यक्ति श्रमको अवमूल्यन गर्न पुग्छन् र जो आफ्नो रगत, पसिना बगाएर आफू मात्र होइन, अरूलाई पनि बचाइरहेका श्रमिक वर्गमाथि हेयको दृष्टि राख्छन् । हाम्रो देशमा ठुल्ठुला राजनीतिक परिवर्तनका बाबजुद पनि देश अझै गरिबीको रेखामुनि रहिरहनुको प्रमुख कारण पनि यहीँ सोच र चिन्तन नै हो ।
हाम्रो समाजमा केही यस्ता उदेकलाग्दा दृष्य देखिन्छन्, जो दुई छाक खान पनि अरूमाथि निर्भर रहेर दिनभर चोकबजारमा घुमेर क्यारेमबोर्ड, लुँडो र तास खेलेर समय बिताउँछ । उसलाई ‘हुनेखाने’ को दर्जा दिएर सम्मानको नजरले हेरिन्छ । तर जसले आफ्नै खेतबारीमा काम गरे पनि उसलाई ‘बिचरा दुःख पाएछ’ भनी दुखीको दर्जा दिएर ती श्रमजीवीलाई दयाको दृष्टिले हेरिन्छ । तर दयाको पात्र त ती हुन्, जो युवा छ, हृस्टपुष्ट छ र पनि ऊ दुई छाक टार्न पनि अरूमाथि निर्भर छ । समाजको यही गलत प्रवृत्तिका कारण आज विषेश गरी युवापङ्क्ति आफूलाई सिर्जनाको जननी मानिने श्रमिक भनेर परिचय दिन पनि असहज मान्छन् । तर सगौरव ‘जग्गाको कारोबार (दलाली) गर्छु, विदेश मान्छे सप्लाई (म्यानपावरको एजेन्ट) गर्छु’ भन्दा कत्ति पनि असहज मान्दैनन्, बरु त्यसलाई आफ्नो सामाजिक प्रतिष्ठासँग जोडेर हेर्छन् ।
अहिलेको सन्दर्भमा यो सत्य हो कि पैसा हाम्रो जीवनको एउटा महत्त्वपूर्ण साधन हो, तर साध्य (सबथोक) होइन । यदि एउटा सार्थक र सच्चा मानवीय जीवनका लागि पैसा नै सबथोक हुँदो हो त राजदरबारको सुखसयल र युवराजको उपाधि गौतम बुद्धले पनि किञ्चित त्याग्दैनथे होला । केही समयअगाडि मात्रै बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेघनाले बेलायतको वैभबशाली राजदरबार र राजपरिवारको सदस्य त्यागेर आफूखुशी स्वतन्त्र जीवन जिउने घोषणा गर्दैनथे होला । तर आज हाम्रो नेपाली समाज अर्थजोडको पछाडि लगाम बिनाको घोडाजस्तै दौडिरहेको छ, जसले कतिको न्यायपूर्ण आवाजलाई दबाएको छ भने कतिको विसङ्गति विरुद्धको ध्वनिलाई कुल्चेको छ, जसको लेखाजोखा गर्ने फुर्सद कसैलाई पनि छैन ।
न्यून ज्यालामा श्रम गर्ने श्रमिकहरू एकातिर, आर्थिक विपन्नताको मारमा छन् भने अर्काेतिर, श्रम गरेबापत् यो समाजबाट ‘निम्न कोटीको मानिस’ को दर्जाबाट विभुषित हुनुपर्ने अवस्था छ । त्यसैले अहिले अधिकांश युवावर्ग आफ्नो घर, खेतबारी बैङ्कमा धितो राखेर भए पनि विदेश नै जान बढी लालायित हुँदै आएका छन् । किनकि वर्तमान परिप्रेक्ष्यमा जहाँ गए पनि, मजदुरको अवस्था उस्तै दयनीय नै भए पनि विदेशमा श्रम गरेबापत् आफ्नो आफन्त र छरछिमेकबाट त प्रताडित हुनुपर्दैन र त्यहाँ जस्तोसुकै काम गरे पनि आफ्नो मान्छेले देख्दैनन् र भोलि फर्केर आउँदा गाउँसमाजमा आफ्नो इज्जत र मानसम्मान नै अरूको भन्दा बेग्लै हुने भन्ने मनोविज्ञानका कारण आज हाम्रो नेपाली समाजका जुनसुकै वर्ग र उमेर समूहका मानिसलाई विदेशमोहले सताउन छोडेको छैन । त्यसैले हामीकहाँ वर्षदिनमा एक चोटि दशैँतिहार र साकेला मनाउने जुन संस्कार छ, त्यसरी नै प्रत्येक घरका नेपाली विदेश श्रम गर्न जाने संस्कार नै स्थापित भइसकेको छ ।
वैदेशिक रोजगारीले नगण्य मात्रामा केहीले घरखेत पनि जोडे होलान्, तर अधिकांश त्यसले निम्ताएको पारिवारिक विखण्डन र सांस्कृतिक विचलनको यहाँ बयान गरिसाध्य छैन । यसको अर्थ प्रविधिको उच्च विकास र तीव्र गतिमा भइरहेको विश्व भूमण्डलीकरणको अवस्थामा देशविदेश जानै हुँदैन भन्ने सङ्कुचित मानसिकता यहाँ पाल्न खोजिएको होइन । तर अधिकांश नेपालीहरू जुन दर्जाको श्रम गर्न विदेश गइरहेका छन्, त्यो दर्जाको श्रम तत्काल यहाँ आफ्नै देशमा पनि विद्यमान छ । तर हाम्रो समाजको श्रमप्रतिको तुच्छ दृष्टिकोण र श्रमिकप्रतिको अपहेलित मानसिकताका कारण आज नेपाली श्रमजीवी वर्ग उज्ज्वल भविष्य र आत्मसम्मानको खोजीमा भारतको कन्याकुमारीदेखि जम्मुकस्मिरसम्म र अरबको खाडीदेखि युरोपको सडकका गल्तीसम्म भौतारिन विवश छन् ।
श्रमिक युवावर्गमा यो अट्टहासलाग्दो विवशता सिर्जना गर्ने राज्यसत्ताको रूपमा कायम रहेको दलाल पुँजीवादका कारिन्दा नै हुन्, जो अहिले हाम्रो नेपाली समाजमा पनि यौवनकारी फूलजस्तै फक्रिरहेको छ । तर यसको मूल्य यो संवेदनाहीन समाजले एक दिन अवश्य चुकाउनुपर्ने छ । तर अबको युवा पुस्तालाई पनि राज्यसत्ताको गलत चरित्र र प्रवृत्तिका कारण उत्पन्न विषम परिस्थितिबाट भाग्ने सुविधा किमार्थ छैन । किनकि विद्यमान समाजमा मौजुद गलत संस्कृति र प्रवृत्तिका कारण उत्पन्न खराब परिस्थितिको विरुद्ध अहिलेका युवा पुस्ताले सम्झौताहिन सङ्घर्ष नगर्ने हो भने यो गलत प्रवृत्ति र संस्कृतिको शिकार अब आउने पुस्ता पनि हुने छन् ।
एकातिर, श्रमप्रति हाम्रो सङ्कुचित मानसिकता यथावत छ भने अर्कातिर, हामीले विकास र समृद्धिको कुरा निकै जोडतोडले गरिरहेका छौँ र विभिन्न विकसित मुलुकहरू, जस्तै– चीन, जापान, अमेरिका, स्विटजरल्यान्ड र सिङ्गापुरको उदाहरण दिएर नेपाललाई पनि त्यस्तै बनाउने भनेर विभिन्न कालखण्डका विभिन्न नेताले भन्दै आएका छन् । तर यसरी भाषण गरिरहँदा हामीले के कुरा भुल्नु हुँदैन भने ती विकसित भनिएका मुलुकका नेताको स्पष्ट भिजन र जनताको प्रत्यक्ष योगदान र समर्पणबाट मात्र ती देशमा पनि भौतिक विकास र समृद्धि सम्भव भएको हो, जो अहिले भर्खर हामी नेपालीका निम्ति साझा सपनाको विषय बन्दै छ ।
यदि अधिकांश ‘ठुलाबडा’ भनिने नेपालीजनले जस्तै श्रमलाई तुच्छ र श्रमिक वर्गलाई अपहेलित नजरले मात्र हेरिरहेको भए आज ती विकसित भनिएका मुलुकको आर्थिक अवस्था सायद हाम्रोभन्दा पनि दयनीय हुन्थ्यो होला । यद्यपि विभिन्न कोणबाट समृद्धि र विकासको शिखर चुमिरहेका मुलुकमा मजदुरमाथि प्रत्यक्ष्य÷अप्रत्यक्ष रूपमा नाङ्गो लुट र बर्बर दमन छैन भन्न खोजिएको होइन । यो त विद्यमान समाजमा व्याप्त भ्रष्टाचार, लुटपाट, विभिन्न जातपात र धर्मको नाममा हुने भेदभाव र छुवाछूतजस्ता जघन्य अपराधको अन्त्य गरी सबैले आत्मसम्मानपूर्वक बाँच्न पाउनुपर्ने हकको सुनिश्चित गर्दै, समानतामूलक समाजको निर्माण नगरेसम्म, सम्पूर्ण शोषित–उत्पीडित मजदुर वर्गले विभिन्न कालखण्डका शासक/प्रशासकद्वारा गरिब, किसान र श्रमिक वर्गमाथि मच्चाइरहेको नाङ्गो लुटको साम्राज्यको विरुद्ध भीषण आन्दोलन गर्दै आइरहेका छन् र ठोस रूपमा परिणाम प्राप्त नभएसम्म यो आन्दोलन भोलि पनि श्रमिकवर्गले निरन्तर जारी राख्ने छन् ।
गरिब, किसान र मजदुरको परिचय केवल गरिबी र मजदुरीसँग मात्र जोडिँदैन, अहिलेसम्मको इतिहास र भोलिको सुन्दर भविष्य निर्माणसँग पनि जोडिएको हुन्छ । यस अर्थमा श्रमजीवी वर्गको इतिहास आत्मग्लानी र पश्चातापले होइन, सधँै गौरवले भरिएको हुन्छ र यदि हामी कसैले पनि आफ्नो व्यक्तिगत जीवन र समाजमा विकास र समृद्धि हेर्न चाहान्छौँ भने त्यो श्रमको माध्यमबाट मात्र सम्भव छ । त्यसैले श्रमिकमुखी र श्रममैत्री समाज निर्माण गर्न राज्य आफ्नो दायित्वबाट पन्छिरहे पनि नागरिक स्तरबाट बेलैमा यसको पहल वा सुरुवात गरौँ ।
(लेखक अखिल नेपाल युवक सङ्घ १ नम्बर प्रदेशका नेता हुनुहुन्छ)