तेहरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) को नौसेनाले होर्मुजमा समुद्री सुरुङ विस्फोटकमा ठोक्किएपछि एउटा मालवाहक जहाज डुबेको जनाएको छ ।
जारी युद्धका क्रममा समुद्री सुरुङमा ठोक्किएर जहाज डुबेको घटना पहिलोपटक सार्वजनिक भएको इरानी पक्षको भनाइ छ ।
यता, समुद्री यातायातसम्बन्धी अधिकारीले सिङ्गापुरमा दर्ता भएका दुई मालवाहक जहाज मङ्गलबार र बुधबार जलडमरुमध्य पार गर्ने क्रममा अज्ञात वस्तुबाट प्रहारमा परेको जानकारी दिएका छन् । तीमध्ये एउटा जहाज डुबेको छ भने अर्को सुरक्षित स्थानमा पुग्न सफल भएको छ ।
सिङ्गापुरको सामुद्रिक तथा बन्दरगाह प्राधिकरणका अनुसार डुबेको जहाजमा रहेका सबै चालक दलका सदस्यलाई सुरक्षित बाहिर निकालिएको थियो । दुवै घटनामा कुनै मानवीय क्षति भएको विवरण प्राप्त नभएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले यस्ता आक्रमणलाई उक्साहटरहित, औचित्यहीन तथा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घनका रूपमा व्याख्या गरेको छ, यद्यपि सिङ्गापुरमा दर्ता भएको डुबेको जहाज र इरानले समुद्री सुरुङमा ठोक्किएको बताएको जहाज एउटै हुन् वा होइनन् भन्ने विषयमा स्पष्ट जानकारी प्राप्त भएको छैन ।
इरानी अधिकारीले घटनाबारे विस्तृत विवरण सार्वजनिक गरेका छैनन् । इरानको सरकारी टेलिभिजनले प्रसारण गरेको रिभोलुसनरी गार्डको वक्तव्यअनुसार जहाज बुधबार बिहान इरानले अवैध तथा जोखिमपूर्ण मार्ग भनेको बाटो हुँदै यात्रा गरिरहेको समयमा समुद्री सुरुङमा ठोक्किएको थियो ।
प्रसारण गरिएका दृश्यमा जहाज पानीमा एकातिर ढल्किएको र त्यसबाट बाक्लो धुवाँ निस्किरहेको देखाइएको थियो । उक्त जहाजमा दुई हजार पाँच सय कन्टेनर रहेको पनि सरकारी टेलिभिजनले जनाएको छ, यद्यपि समाचार संस्था एसोसिएटेड प्रेसले ती दृश्यको स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन ।
इरानले आफ्नो अनुमतिविना होर्मुज पार गर्ने प्रयास नगर्न जहाजलाई पटकपटक चेतावनी दिँदै आएको छ । अर्कोतर्फ, अमेरिकी सेनाले जहाजलाई ओमानको तटनजिकको मार्ग हुँदै जलडमरु पार गर्न सहयोग गरिरहेको छ । (रासस/एपी)





