पेशावर (पाकिस्तान) । उत्तर–पश्चिम पाकिस्तानको पेशावर सहरस्थित एक निजी विद्यालयको छाना खस्दा बिहीबार एक जना शिक्षकसहित २१ जना विद्यार्थीको मृत्यु भएको अस्पतालका अधिकारीले बताएका छन् ।
पेशावरस्थित लेडी रिडिङ अस्पतालका अधिकारी आसिम खानले मृतकको सङ्ख्या पुष्टि गर्दै ३० जनाभन्दा बढी घाइते भएको र तीमध्ये छ जनाको अवस्था गम्भीर रहेको जानकारी दिएका हुन् ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले विज्ञप्ति जारी गर्दै घटनामा भविष्यका कर्णधारको बहुमूल्य जीवन गुमेको घटनाप्रति गहिरो दु:ख र शोक व्यक्त गरे ।
करिब २४ करोडभन्दा बढी जनसङ्ख्या भएको दक्षिण एसियाली मुलुक पाकिस्तानमा कमजोर सुरक्षा मापदण्ड र निर्माणमा गुणस्तरहीन सामग्रीको प्रयोगका कारण भवन वा छाना खस्ने घटना पटकपटक हुने गरेको जनाइएको छ ।
यस वर्षको जुन महिनामा पूर्वी सहर लाहोरस्थित एक ट्युसन केन्द्रमा छाना खसेर भएको दुर्घटनामा एक दर्जनभन्दा बढी बालबालिकाको मृत्यु भएको थियो ।
सन् २०२५ मा दक्षिणी सहर कराँचीको गरिबी बस्ती लियारीमा पाँच तले भवन भत्किँदा २७ जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए ।
भग्नावशेषबाट पीडितलाई निकाल्नका लागि उद्धार प्रयास भइरहेको जनाइएको छ भने प्रहरीले विद्यालय भवन भत्किनुको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिसकेको बताएको छ । (रासस/एएफपी)





