• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु

नेकपाले कात्तिक ७ गतेदेखि जागरण अभियान सुरु गर्दै

यमनमा संयम अपनाउन राष्ट्रसङ्घको आग्रह

नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

  • ३. सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

  • ४. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ५. चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

  • ६. कङ्ग्रेस संस्थापनको पदाधिकारीमा को को छन् ?

  • ७. किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

  • ८. दुर्गापूजा मण्डपमा भागदौड हुँदा १९ जनाको मृत्यु

  • ९. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • १०. शिक्षक सङ्घद्वारा दाङमा शुभकामना आदानप्रदान कार्यक्रम

सहकारीमा ठगीको जालो : मनोज भट्टद्वारा लिखित पुस्तकको समीक्षा


  •   शुक्रबार, असोज २३, २०८३ मा प्रकाशित
  • आर्थिक विकृतिसम्मको चित्रण

    Advertisement

    २०८३ असोज ४ गते राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन भयो । बागबजारस्थित होटल हार्दिकमा आयोजित विमोचन कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायत विभिन्न वामपन्थी नेता, सहकारी क्षेत्रका जानकार तथा विज्ञहरूको उपस्थिति थियो । सहकारी क्षेत्रमा देखिएका आर्थिक अनियमितता, बचतकर्ताको पीडा र राज्यको भूमिकाजस्ता समसामयिक विषय उठाएकाले यस पुस्तकले विशेष चासो आकर्षित गरेको देखिन्छ ।

    मैले पनि उक्त पुस्तकलाई करिब ८० घण्टा लगाएर सरसर्ती अध्ययन गरेँ । पुस्तकका सबै पक्षको गहिरो विश्लेषण गर्न नसके पनि यसले नेपालको सहकारी क्षेत्रमा देखिएको ठगी र त्यसबाट सर्वसाधारणले भोग्नुपरेको समस्यालाई उजागर गर्ने प्रयास गरेको अनुभूति भयो । पुस्तकमा प्रस्तुत विषयवस्तुका सकारात्मक पक्षसँगै यसलाई अझ अनुसन्धानमूलक, वस्तुनिष्ठ र प्रभावकारी बनाउन सकिने केही पक्षमाथि यहाँ चर्चा गर्ने प्रयास गर्ने कोशिस गरेको छु ।

    मूल उद्देश्य र सङ्कट

    नेपालमा सहकारी अभियानको विकास सामूहिकता, आत्मनिर्भरता, आर्थिक लोकतन्त्र र जनताका साना पुँजीलाई एकत्रित गरी उत्पादनशील क्षेत्रमा परिचालन गर्ने उद्देश्यले भएको बुझिन्छ । विशेषगरी बैंक तथा औपचारिक वित्तीय संस्थाको पहुँच कमजोर भएका ग्रामीण क्षेत्रका नागरिक, कृषक, मजदुर र साना व्यवसायीका लागि सहकारी संस्था आर्थिक गतिविधिको महत्वपूर्ण माध्यम बनेका छन् ।

    ‘एकका लागि सबै, सबैका लागि एक’ भन्ने भावनामा आधारित सहकारी अवधारणाले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गर्नुका साथै सामुदायिक पुँजी परिचालन र आर्थिक आत्मनिर्भरतामा योगदान पुर्‍याउने लक्ष्य राखेको थियो । तर, पछिल्लो समय कतिपय सहकारी संस्थामा देखिएका आर्थिक अनियमितता, अपारदर्शिता, सञ्चालकको स्वेच्छाचारिता र बचतकर्ताको रकम अपचलनका घटनाले सहकारी आन्दोलनमाथि गम्भीर प्रश्न उठाएका छन्।

    ‘सहकारीको जालो’ शीर्षकले पनि यही विरोधाभासलाई सङ्केत गर्छ । ‘सहकारी’ले सहकार्य, विश्वास र सामूहिक हितको भावना व्यक्त गर्छ भने ‘जालो’ले स्वार्थ, जटिलता र आर्थिक अनियमितताको संरचनातर्फ सङ्केत गर्छ । यस अर्थमा पुस्तकको शीर्षकले सहकारीको आदर्श र व्यवहारमा देखिएको विकृतिबीचको अन्तरलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको छ ।

    पीडा र सामाजिक सङ्कट

    पुस्तकको मुख्य विषय सहकारी क्षेत्रमा मौलाएको ठगी, त्यसबाट सर्वसाधारण बचतकर्तामा परेको असर र पीडितले न्याय प्राप्त गर्न भोग्नुपरेको कठिनाइ हो । सहकारीमा रकम जम्मा गर्ने व्यक्तिका लागि त्यो पैसा केवल आर्थिक बचत मात्र होइन । त्यो परिवारको भविष्य, छोराछोरीको शिक्षा, स्वास्थ्योपचार, घर निर्माण, व्यवसाय र बुढेसकालको सहारासमेत हो ।

    विशेषगरी मजदुर, साना व्यापारी, नाङ्लो पसल सञ्चालक तथा नियमित आयस्रोत कमजोर भएका नागरिकले आफ्‌नो जीवनभरको कमाइ सहकारीमा जम्मा गरेका हुन्छन् । त्यस्तो रकम डुब्दा उनीहरू आर्थिक सङ्कटमा मात्र पर्दैनन्, मानसिक तनाव र पारिवारिक समस्यासमेत भोग्न बाध्य हुन्छन् ।

    पुस्तकले सहकारी पीडितको यही यथार्थलाई सार्वजनिक बहसको विषय बनाउने प्रयास गरेको छ । बचतकर्ताहरू आफ्‌नो रकम फिर्ता पाउन सहकारी कार्यालय, प्रहरी, सहकारी विभाग, मन्त्रालय तथा सरकारका विभिन्न निकाय धाउन बाध्य भएको अवस्थालाई यसले उठाएको छ । पीडितले न्याय खोजिरहेका बेला राज्यका निकायबाट पर्याप्त सहयोग नपाएको तथा कतिपय अवस्थामा ठगीमा संलग्न भनिएका व्यक्तिहरूले संरक्षण पाएको आरोपसमेत पुस्तकको विषयवस्तुमा समेटिएको छ ।

    यद्यपि, यस्ता गम्भीर आरोपको मूल्याङ्कन गर्दा सम्बन्धित घटनाका प्रमाण, अनुसन्धानको अवस्था र कानुनी निष्कर्षलाई समेत ध्यान दिन आवश्यक हुन्छ होला ।

    सहकारी सङ्कटको अर्को गम्भीर पक्ष यसको सामाजिक प्रभाव हो । बचत गुम्दा उत्पन्न हुने मानसिक तनाव, पारिवारिक सम्बन्धमा आउने दरार र भविष्यप्रतिको अनिश्चितताले मानिसको जीवनमा गहिरो असर पार्न सक्छ । त्यसैले सहकारी ठगीलाई वित्तीय अपराध वा लेखापरीक्षणको समस्याका रूपमा मात्र सीमित गर्नु उचित हुँदैन । यसको मानवीय तथा सामाजिक पक्ष पनि उत्तिकै महत्वपूर्ण छ ।

    पुस्तकका सबल पक्ष

    ‘सहकारीमा ठगीको जालो’को सबैभन्दा महत्वपूर्ण पक्ष यसले उठाएको विषयवस्तु हो । सहकारी समस्याले प्रभावित नागरिकको आवाजलाई पुस्तकमार्फत सार्वजनिक बहसमा ल्याउनु लेखकको महत्वपूर्ण प्रयास हो । सहकारी ठगीलाई रकमको हिसाबकिताबमा मात्र सीमित नगरी बचतकर्ताको जीवन, श्रम र भविष्यसँग जोडेर प्रस्तुत गर्नु पुस्तकको सकारात्मक पक्ष हो।

    लेखकले २०७२ सालदेखि सहकारी पीडितका समस्या, आन्दोलन र धर्नालाई नजिकबाट देखेको तथा अनुभूत गरेको विवरण दिनुभएको छ । यस अनुभवले पुस्तकमा पीडितहरूको अवस्था र उनीहरूले सरकारी निकायमा धाउँदा भोग्नुपरेका कठिनाइलाई प्रस्तुत गर्ने आधार दिएको देखिन्छ ।

    त्यसैगरी, पुस्तकले सहकारी क्षेत्रमा देखिएका आर्थिक अनियमितता र राजनीतिक तथा प्रशासनिक जवाफदेहिताको प्रश्नलाई पनि उठाएको छ । सहकारी सञ्चालकहरूको भूमिका, नियमनकारी निकायको जिम्मेवारी र राज्यको व्यवहारबारे प्रश्न गर्नु यस विषयमा आवश्यक सार्वजनिक बहसको हिस्सा हो ।

    सहकारी ठगीको प्रभाव आर्थिक क्षतिमा मात्र सीमित हुँदैन भन्ने पक्षलाई जोड दिनु पनि पुस्तकको महत्वपूर्ण विशेषता हो । सर्वसाधारणको बचत गुम्दा उनीहरूको जीविकोपार्जन, पारिवारिक सुरक्षा र सामाजिक सम्बन्धमा समेत असर पर्न सक्छ । यस अर्थमा पुस्तकलाई सहकारी क्षेत्रको समस्या प्रस्तुत गर्ने कृतिका साथै आर्थिक न्याय, संस्थागत जवाफदेहिता र नागरिक अधिकारसँग सम्बन्धित सामाजिक दस्तावेजका रूपमा पनि हेर्न सकिन्छ ।

    नियमन, पारदर्शिता र जवाफदेहिता

    सहकारी क्षेत्रमा हुने आर्थिक अनियमिततालाई सञ्चालक वा कर्मचारीको व्यक्तिगत बदमासीमा मात्र सीमित गरेर बुझ्न सकिँदैन । संस्थागत सुशासन, नियमित अनुगमन, प्रभावकारी लेखापरीक्षण, सदस्यहरूको निगरानी र नियामक निकायको जिम्मेवारी पनि यससँग जोडिएका छन् ।

    कुनै सहकारी संस्थामा आर्थिक अनियमितता कसरी सम्भव भयो ? सञ्चालकहरूलाई त्यस्तो अवसर कसरी प्राप्त भयो ? बचतकर्ताले समयमै जोखिम पहिचान गर्न किन सकेनन् ? नियमनकारी निकायले आफ्‌नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गरे कि गरेनन् ? संस्थाको साधारणसभा र सदस्यहरूको निगरानी प्रणाली किन कमजोर भयो ? यी प्रश्नहरूको उत्तर खोज्नु आवश्यक छ ।

    सहकारी क्षेत्रका सबै संस्थालाई एउटै दृष्टिले हेर्नु पनि उचित हुँदैन होला । कतिपय सहकारीले सदस्यहरूको आर्थिक अवस्था सुधार गर्न, स्थानीय उद्यम विकास गर्न, रोजगारी सिर्जना गर्न र सामुदायिक आर्थिक गतिविधिलाई विस्तार गर्न महत्वपूर्ण योगदान गरेका छन् । त्यसैले केही संस्थामा देखिएका विकृतिका आधारमा समग्र सहकारी आन्दोलनलाई नै दोषी ठहर गर्नु तथ्यगत रूपमा उचित हुँदैन कि ?

    खराब अभ्यासको पर्दाफाससँगै सफल, पारदर्शी र सदस्यको हितमा सञ्चालित सहकारी संस्थाका उदाहरणसमेत प्रस्तुत गर्न सकिए पुस्तकको विश्लेषण अझ सन्तुलित बन्न सक्ने थियो ।

    पुस्तकमा सुधार गर्न सकिने पक्ष

    पुस्तकले महत्वपूर्ण विषय उठाएको भए पनि यसलाई अझ अनुसन्धानमूलक, वस्तुनिष्ठ र नीतिगत दृष्टिले प्रभावकारी बनाउन केही पक्षमा थप काम गर्न सकिने देखिन्छ ।

    पहिलो, सहकारी समस्याको वास्तविक परिमाण देखाउने आधिकारिक तथ्याङ्क र आँकडालाई अझ व्यवस्थित रूपमा प्रस्तुत गर्न सकिन्थ्यो । कति सहकारी समस्याग्रस्त घोषित भएका छन्, कति बचतकर्ता प्रभावित भएका छन्, कति रकम अपचलन भएको छ र कुन प्रकृतिका सहकारीमा बढी समस्या देखिएको छ भन्ने प्रश्नको उत्तर आधिकारिक तथ्याङ्कबाट खोजिनुपर्छ । सम्बन्धित सरकारी निकायका प्रतिवेदन, लेखापरीक्षण विवरण तथा अनुसन्धानका दस्तावेज समावेश गर्दा पुस्तकको प्रामाणिकता र विश्लेषणात्मक मूल्य बढ्ने थियो ।

    दोस्रो, सहकारी ठगीसम्बन्धी आरोप र प्रमाणित तथ्यबीच स्पष्ट भिन्नता राख्न आवश्यक छ । अदालतका फैसला, अनुसन्धान प्रतिवेदन, सरकारी अभिलेख, लेखापरीक्षण विवरण र सम्बन्धित पक्षको भनाइलाई सन्तुलित रूपमा समेट्न सके पुस्तकको अनुसन्धानात्मक विश्वसनीयता अझ बलियो बन्ने थियो ।

    तेस्रो, सहकारी सङ्कटको नीतिगत तथा संरचनागत पक्षमा थप विश्लेषण गर्न सकिन्थ्यो । सहकारीसम्बन्धी कानुनी व्यवस्था, संघ, प्रदेश र स्थानीय तहबीच नियमन तथा अनुगमनको जिम्मेवारीमा देखिने चुनौती, नियामक निकायको क्षमता र वित्तीय सुशासनका प्रश्नलाई विस्तृत रूपमा समेट्दा पुस्तकको दायरा अझ फराकिलो हुने थियो ।

    चौथो, समस्या र पीडाको चित्रणसँगै समाधानका व्यावहारिक उपायलाई पनि प्राथमिकता दिन आवश्यक छ । बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रिया कसरी प्रभावकारी बनाउन सकिन्छ ? ठगीमा संलग्न प्रमाणित व्यक्तिको सम्पत्ति कानुनबमोजिम परिचालन गरेर पीडितलाई क्षतिपूर्ति दिने व्यवस्था कसरी बलियो बनाउन सकिन्छ ? भविष्यमा बचतकर्ताको रकम सुरक्षित राख्न कस्तो नियमन प्रणाली आवश्यक पर्छ ? यस्ता प्रश्नमा ठोस सुझाव र कार्ययोजना प्रस्तुत गर्न सके पुस्तक नीति निर्माणका लागि समेत उपयोगी बन्ने थियो ।

    पाँचौँ, सहकारी क्षेत्रमा राजनीतिक प्रभाव र संरक्षणको प्रश्नलाई दलगतबाट टढा रहेर विश्लेषण गर्नु महत्वपूर्ण हुन्थ्यो कि ? विभिन्न राजनीतिक दलसँग आबद्ध व्यक्तिहरूको भूमिका, राज्यका निकायको व्यवहार र संस्थागत कमजोरीबारे प्रमाणमा आधारित विश्लेषण हुन सके पुस्तकको निष्पक्षता र विश्वसनीयता अझ बढ्ने थियो।

    लेखक आफैँ राजनीतिक दलको महासचिव भएकाले पाठकले पुस्तकमा प्रस्तुत राजनीतिक विश्लेषणलाई विशेष ध्यानका साथ हेर्न सक्छन् । त्यसैले आलोचनालाई सबै पक्षमा समान मापदण्डका आधारमा प्रस्तुत गर्नु र आफ्‌ना निष्कर्षलाई पर्याप्त प्रमाणले पुष्टि गर्नु अझ महत्वपूर्ण हुन्छ ।

    त्यस्तै, भावनात्मक अभिव्यक्तिको दोहोराइ कम गरी निश्चित सहकारीका घटनामा आधारित अध्ययन, पीडितका प्रतिनिधिमूलक अनुभव, अदालती प्रक्रियाको अवस्था र प्रमाणित तथ्यलाई व्यवस्थित रूपमा प्रस्तुत गर्न सकिए पुस्तकको प्रभावकारिता झनै बढ्ने थियो ।

    निष्कर्ष :

    समग्रमा ‘सहकारीको जालो’ नेपालको सहकारी क्षेत्रमा देखिएको गम्भीर आर्थिक तथा सामाजिक सङ्कटलाई सार्वजनिक बहसमा ल्याउने समसामयिक कृति हो । यसले सहकारी ठगीबाट प्रभावित सर्वसाधारणको पीडा, राज्यको जवाफदेहितासम्बन्धी प्रश्न र सहकारी क्षेत्रको संस्थागत समस्यामाथि ध्यानाकर्षण गराएको छ ।

    पुस्तकको मुख्य महत्व बचतकर्ताको आवाजलाई सार्वजनिक विमर्शमा स्थान दिनु र सहकारी क्षेत्रको वर्तमान अवस्थाबारे प्रश्न उठाउनुमा छ । यद्यपि, आधिकारिक तथ्याङ्क, प्रमाणमा आधारित केस स्टडी, नीतिगत विश्लेषण र व्यावहारिक समाधानलाई अझ व्यवस्थित रूपमा समावेश गर्न सके यसको अनुसन्धानात्मक तथा प्राज्ञिक मूल्य थप बढ्ने देखिन्छ ।

    सहकारी संस्थाको उद्देश्य जनताको सानो पुँजीलाई एकत्रित गरी सामूहिक हित र आर्थिक आत्मनिर्भरताको आधार निर्माण गर्नु हो । तर, त्यही संस्थामाथिको विश्वास कमजोर भयो र सर्वसाधारणको बचत असुरक्षित बन्यो भने सहकारी आन्दोलनको मूल मर्म नै प्रभावित हुन्छ ।

    त्यसैले आजको मुख्य प्रश्न सहकारी संस्थालाई जनताको आर्थिक सहकार्यको माध्यम बनाउने कि सीमित व्यक्तिको स्वार्थ पूरा गर्ने आर्थिक जालो बन्न दिने भन्ने हो । यसको उत्तर सञ्चालक, सदस्य, बचतकर्ता, नियामक निकाय र राज्यका सबै तहको व्यवहार तथा जवाफदेहितामा निर्भर गर्छ ।

    यस दृष्टिले वित्तीय साक्षरता, सामाजिक न्याय, सहकारी आन्दोलन र राज्यको जवाफदेहिताप्रति चासो राख्ने पाठक, नीति निर्माता, राजनीतिकर्मी तथा सहकारीकर्मीका लागि ‘सहकारीमा ठगीको जालो’ अध्ययन र बहसको महत्वपूर्ण आधार बन्न सक्छ ।

    शुक्रबार, असोज २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व
    बुढीगण्डकी बाढीले दिएको चेतावनी
    केपी शर्मा ओली : एक त्रिवेणी विमर्श
    ग्यास अभावको विकल्पप्रति गम्भीर बनौँ
    रसुवाबाढीबाट सिर्जित महाविपत्तिबारे अन्टुकको अपेक्षा
    प्राकृतिक विपत्तिको सामना गर्न ठोस योजना

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

    • ३.
      सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

    • ४.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    • ५.
      चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

    • ६.
      कङ्ग्रेस संस्थापनको पदाधिकारीमा को को छन् ?

    भर्खरै

    • १.
      ‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु

    • ४.
      नेकपाले कात्तिक ७ गतेदेखि जागरण अभियान सुरु गर्दै

    • ५.
      यमनमा संयम अपनाउन राष्ट्रसङ्घको आग्रह

    • ६.
      नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

    • ७.
      आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

    • ८.
      इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.