खिमराज चालिसे,
चण्डीगढ, भारत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नगर समिति जालन्धरले मृगौला पीडित नरबहादुर रेश्मीको उपचारका लागि ६१ हजार २६० रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
विगत एक वर्षदेखि दुवै मृगौला फेल भई नियमित डायलाइसिस गराउँदै आएका रेश्मीको उपचारमा राहत पुर्याउने उद्देश्यले मूल प्रवाहले कार्यकर्तास्तरबाट रकम संकलन गरी पीडितका आफन्तलाई हस्तान्तरण गरेको हो ।
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका–५, ढाँड मैदान, क्यामराघारी निवासी ५२ वर्षीय नरबहादुर रेश्मी मूल प्रवाह सुदूरपश्चिमोत्तर महिला विभागकी सदस्य मीना थापाका दाजु हुन् ।
पीडित रेश्मीको उपचारमा सहयोग पुर्याउने उद्देश्यले मूल प्रवाहको स्थानीय समितिले स्वतःस्फूर्त रूपमा आर्थिक सहयोग अभियान सञ्चालन गरेको थियो ।
संकलित ६१ हजार २६० रुपैयाँ गत २ अक्टोबर २०२६ मा पीडितका भाई खुमबहादुर रेश्मीलाई हस्तान्तरण गरिएको मूल प्रवाहका केन्द्रीय सचिव कुलबहादुर बगालेले जानकारी दिनुभयो ।