बेलबारी (मोरङ) । बेलबारीलाई मुकाम बनाएर साहित्यको सिर्जना र प्रकाशन गर्दै आउनुभएका स्रष्टा ईरानराईको संयुक्तसहित पन्ध्रौँ तथा एकल एघारौँ कृतिका रूपमा प्रकाशित बालएकाङ्ग सङ्ग्रह ‘जिउँदा सपनाहरू’ सार्वजनिक भएको छ ।
बेबारीस्थित सगरमाथा बोर्डिङ स्कुलमा २०८३ असोज १७ गते शनिबार सो कृति सार्वजनिक गरिएको हो ।
प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राई, वरिष्ठ साहित्यकार तथा पूर्व सांसद हर्कमान तामाङ, एकाङ्कीकार ईरानराई, नाटक विषयमै विद्यावारिधि गर्नुभएका डा. गोपीकृष्ण खतिवडा, शिल्पी थिएटर काठमाडौँका निर्देशक घिमिरे युवराज, प्याब्सन मोरङका अध्यक्ष जगत् बस्नेत, नाट्यकर्मी प्रयाग न्यौपाने, पथरी बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पसप्रमुख चेतन पौडेल जङ्गली, वडाध्यक्ष कृष्णबहादुर गुरुङ र आयोजक अध्यक्ष रमेश निरौलालगायतले एकैसाथ सो कृति सार्वजनिक गर्नुभयो ।
सो अवसरमा प्रमुख अतिथि नगरप्रमुख राईले नाटकले विद्यार्थीलाई सृजनशील बनाउने भएको र ईरानराईको यो कृति समाज र शिक्षाका लागि उपयोगी रहेको बताउनुभयो ।
त्यस्तै, विशिष्ट अतिथि वरिष्ठ साहित्यकार तामाङले मानिसलाई सही मार्गमा डोर्याउन नाटकले प्रेरित गर्ने र प्रस्तुत कृति सो कार्यका लागि एउटा उपयुक्त माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो ।
कृतिकार ईरानराईले आफूले २०४२/४३ देखि नै नाटक लेखन, निर्देशन र मञ्चन गर्दै आएको स्मरण गर्दै विशेष गरेर अहिलेका बालबालिकालाई स्क्रिनको कुलतबाट हटाएर सदुपयोगतिर लगाउने प्रयासस्परूप बालएकाङ्की लेखेको बताउनुभयो ।
समीक्षक डा. खतिवडाले नाटकमासबै एकाङ्की उत्कृष्ट र मञ्चनयोग्य रहेको बताउनुभयो ।
समीक्षक नाट्यकर्मी युवराजले नाटकहरू उत्कृष्ट रहेका तथा मञ्चनलाई ध्यान दिनुपर्दा अलिक बढी क्रियाकलाप समेटिनुपर्ने सुझाव दिँदै पात्रको नाम मौलिक रहेको बताउनुभयो ।
बेलबारी प्रज्ञा–प्रतिष्ठानकी अध्यक्ष रेखा सुवेदी, पथरी बहुमुखी क्याम्पस, पथरीका निवर्तमान क्याम्पसप्रमुख चेतन पौडेल र नाट्यकर्मी साहित्यकार न्यौपानेले कृतिको प्रशंसा गर्नुभएको थियो ।
डियर कल्याण साहित्य प्रतिष्ठानका अध्यक्ष विनोद विवश घिमिरे, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याखा, कोशी कला साहित्य परिषद्का अध्यक्ष केशु विरही, आङलाबुङ साहित्य कला परिषद्का अध्यक्ष धनजित पराजुली, शब्द थिएटर पथरीका निर्देशक जीवन बराल, कवि बादल चाम्लिङ, तिला लेकाली, हीरा खड्का अधिकारी, प्रलेस सुनसरीकी अध्यक्ष विमला पोखरेल र प्रलेस मोरङका अध्यक्ष यज्ञराज सुसेली, राजनीतिकर्मी शङ्कर गुरुङ, गायक सञ्जीव धिमाल, नाट्यकर्मी टीकालाल धिमाल, मञ्जिल अधिकारी, भक्तशेर लिम्बूलगायतको आतिथ्य थियो ।
राईको बालएकाङ्कीमा ‘कुसुनी’, ‘कपाल’ र ‘नङपालिस’, ‘तामा र टुसा’, ‘सुध्रिने बाचा’, ‘जिउँदा सपनाहरू’, ‘भूमिका’, ‘ट्युसन’, ‘आजको खाना’, ‘म्याग्मादेखि लार्भासम्म’ र ‘डर’ गरी १० ओटा एकाङ्की सङ्गृहीत छन् । पुस्तकलाई पिडिएफमा पढ्न र अनलाइन भुक्तानीका लागि बेग्लाबेग्लै क्य्आर पनि पुस्तकमै समेटिएका छन् ।
कार्यक्रम बेलबारी साहित्य विकास समितिको आयोजनामा समितिका अध्यक्ष निरौलाको अध्यक्षता, उपाध्यक्ष लक्ष्मी रेग्मी सुवेदीको स्वागत मन्तव्य र साहित्यकार जेबी थुलुङको सञ्चालनमा सम्पन्न भएको थियो ।
बालएकाङ्कीको महत्त्वबारे अन्तरक्रिया
आजकै मितिमा बिहानी सत्रमा अहिलेका बालबालिकालाई स्क्रिनको कुलतबाट बचाएर अगाडि बढाउन कसरी सकिन्छ भन्ने उद्देश्यसहित ‘डिजिटल युगमा बालएकाङ्कीको महत्त्व’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुख अतिथि पूर्व सांसद हर्कमान तामाङले यो विषय अति आवश्यक र संवेदनशील भएकोले अझ विस्तृत रूपमा छलफल र अन्तरक्रिया गर्नुपर्ने बताउनुभयो ।
विशिष्ट अतिथि बेलबारी नगरप्रमुख दिलप्रसाद राईले आइटीको दुष्प्रभाव रोक्न बालबालिकाहाई नाटकतिर बच्चैदेखि लगाउनुपर्ने बताउनुभयो ।
साहित्यकार/नाट्यकर्मी ईरानराईले स्वागत गर्दै अन्य विधाले भन्दा बालबालिकाको शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकासमा प्रभावकारी भूमिका खेल्ने तथा दैनिक कम्तीमा एक घण्टा नाटक अभ्यासमा लगाउन सकिने बताउनुभयो ।
उपप्राध्यापक डा. गोपीकृष्ण खतिवडा, उपप्राध्यापक डा. दीपक न्यौपाने र रङ्गकर्मी घिमिरे युवराजले स्क्रिनको कुलतबाट बालबालिकालाई सुरक्षित राख्दै सृजनशील बनाउन बालएकाङ्कीको अति उच्च महत्त्व रहेको बताउनुभयो भने प्याब्सन मोरङका अध्यक्ष जगत् बस्नेत, शब्द थिएटर पथरीका निर्देशक जीवन बराल र रङ्गकर्मी/साहित्यकार भरत गुरागाईँ बर्बरिकले विचार–प्रस्तोताको विचार सान्दर्भिक रहेको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा नाट्यकर्मी, चलचित्रकर्मी तथा साहित्यकारहरू प्रताप थापा, विवेक रिजाल, शम्भु भट्टराई, रेखा सुवेदी, जेबी थुलुङ, तिला लेकाली, विमला पोखरेल, लक्ष्मी रेग्मी सुवेदी, प्रयाग न्यौपाने, लेखबहादुर धिमाल, केदारनाथ ढकाल, राजु परियार, मञ्जिल बराल, झकेन बिसी आदिको आतिथ्य रहेको थियो ।
कार्यक्रम विकास बुढाथोकीको सञ्चालन, आयोजक बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।
