काठमाडौँ । जर्मनीको माक्र्सवादी लेनिनवादी पार्टी (एमएलपिडी) ले नेकपा (मसाल) का सल्लाहकार मधुकुमार क्षेत्रीको निधनप्रति श्रद्धाञ्जली तथा परिवार र सम्बद्ध पार्टीका सदस्यप्रति समवेदना व्यक्त गरेको छ ।
एमएलपिडीकी गाबी बिसनक्याम्पको हस्ताक्षरमा अक्टोबर १, २०२६ तदनुसार २०८३ असोज १५ गतेका दिन शोकवक्तव्य जारी गर्दै श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरिएको हो ।
शोकवक्तव्यमा स्मृतिशेष क्षेत्रीलाई पटकपटकको भेटघाटबाट उहाँ जिम्मेवार, समर्पित र प्रतिबद्ध कमरेडको रूपमा चिनेको उल्लेख गरिएको छ ।
क्यान्सरका कारण हुन गएको क्षेत्रीको असामयिक निधनबाट परिवार र पार्टीलाई गहिरो तथा पीडादायी क्षति पुगेको स्मरण गर्दै वक्तव्यमा मानवजातिलाई शोषण, उत्पीडनबाट मुक्त गर्ने बाटोमा लगातार हिँडेर उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरिने भाव व्यक्त गरिएको छ ।
एमएलपिडीसँगै आइकोरका मुख्य संयोजक मोनिका गार्टनरको तर्फबाट पनि समवेदना व्यक्त गरिएको शोकवक्तव्यको पूर्ण पाठ यस्तो छ :
“कमरेड मधुकुमार क्षेत्रीको परिवार तथा नेकपा (मसाल) का कमरेडलाई एमएलपिडीले कमरेड मधुकुमार क्षेत्रीको निधनप्रति हार्दिक श्रद्धाञ्जली तथा गहिरो समवेदना व्यक्त गर्दछ ।
‘नेकपा (मसाल) सँगको हाम्रो लामो समयदेखिको घनिष्ठ सम्बन्धका क्रममा कमरेड मधुसँग धेरैपटक भेट्ने र सहकार्य गर्ने अवसर हामीले पाएका थियौँ । ती भेटबाट हामीले उहाँलाई एक जिम्मेवार, समर्पित र प्रतिबद्ध कमरेडका रूपमा चिनेका थियौँ ।
क्यान्सरका कारण उहाँको असामयिक निधन भएको र अब उहाँ आफ्नो परिवार तथा कमरेडका लागि विश्वासिलो सल्लाहकार र मित्रका रूपमा हामीमाझ रहन नसक्ने भएकोमा हामी अत्यन्त दु:खी छौँ । परिवारको सदस्य र सहयोद्धा कमरेड गुमाउनु जीवनमा सधैँ गहिरो र पीडादायी क्षति हो ।
नेपालको सांस्कृतिक तथा प्रगतिशील साहित्यिक आन्दोलनमा कमरेड मधुले महत्त्वपूर्ण योगदान पुर्याउनुभएको थियो । उहाँले यस क्षेत्रमा पुर्याउनुभएको योगदान सधैँ स्मरणीय रहनेछ र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिइनेछ । उहाँले अघि बढाउनुभएको बाटो—मानवजातिलाई शोषण र उत्पीडनबाट मुक्त गर्ने बाटो—मा हामी दृढतापूर्वक अघि बढिरहनेछौँ ।
एमएलपिडी, पार्टी अध्यक्ष गाबी फेचनर तथा आइकोरकाका मुख्य संयोजक मोनिका गार्टनर–एङ्गेलका तर्फबाट विशेष गरी उहाँका परिवारजन तथा कमरेडप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ । यस दु:खद बिदाइ र शोकको घडीमा तपाईंहरूलाई शक्ति, साहस र आशा प्राप्त होस् भन्ने हाम्रो हार्दिक कामना छ ।’

