काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलनले आगामी २०८३ कात्तिक १२ देखि १४ गतेसम्म रूपन्देहीको बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा, जनजाति अभिमुखीकरण तथा राष्ट्रिय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।
सम्मेलनले कार्यक्रमलाई भव्य रूपमा सफल पार्न देशभरका जनजाति समुदायसँग आर्थिक, नैतिक तथा भौतिक सहयोगका लागि अपिल गरेको छ । सम्मेलनले आफ्नो स्थापनाकालदेखि राष्ट्रियता, जनतन्त्र, जनजीविका तथा जनजाति अधिकारका पक्षमा संघर्ष गर्दै आएको छ ।
आदिवासी जनजातिका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा शैक्षिक अधिकार सुनिश्चित गर्न आरक्षण, समानुपातिक प्रतिनिधित्व र स्थानीय स्वशासन आवश्यक रहेको उल्लेख गरिएको छ । जनजातिको समस्या वर्गीय समस्यासँग समेत जोडिएको भन्दै शोषित तथा उत्पीडित वर्गको एकतामा जोड दिइएको छ ।
त्यस्तै, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षा, भ्रष्टाचार, कुशासन र महँगीविरुद्ध संघर्ष गर्नुपर्नेमा सम्मेलनले जोड दिएको छ । पछिल्ला राजनीतिक घटनाक्रमप्रति विभिन्न आलोचनात्मक धारणा प्रस्तुत गर्दै गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशितालगायत उपलब्धिको संरक्षणका लागि देशभक्त शक्तिहरू एक हुनुपर्ने अपिलमा उल्लेख छ ।
अखिल नेपाल जनजाति सम्मेलन केन्द्रीय समितिले २०८३ असोज १ गते जारी गरेको अपिलमा राष्ट्रिय प्रशिक्षण, अभिमुखीकरण र जनजातिसभाले संगठनको नीति, उद्देश्य तथा कार्यक्रमलाई थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेको छ ।

