खिमराज चालिसे, चन्डिगढ ।
भारतको चन्डिगढमा एक हप्ताअघि अज्ञात रोगका कारण ज्यान गुमाएका नेपाली नागरिक हरि विष्टको सेप्टेम्बर २८, २०२६ का दिन मूल प्रवाह भारत नेपाली एकता समाजसमेतका नेपाली सङ्घसंस्थाको उपस्थितिमा दाहसंस्कार गरिएको छ ।
विष्टको अस्पतालमा उपचारका क्रममा निधन भएको एक हप्तासम्म पनि परिवार वा कुनै आफन्त सम्पर्कमा नआएपछि स्थानीय नेपाली समुदायले उनको अन्त्येष्टि गरेका हुन ।
प्रहरी अनुसन्धानका क्रममा उनको खल्तीबाट भेटिएको भारतीय परिचयपत्रका आधारमा उनी बहनबहादुर विष्टका छोरा र मोहालीको फेज–७ इन्डस्ट्रियल एरियामा बस्ने गरेको खुले पनि उनको नेपालको स्थायी ठेगाना पत्ता लाग्न सकेको थिएन ।
सामाजिक सञ्जाल र स्थानीय प्रशासनमार्फत व्यापक खोजी गर्दा समेत छ दिनसम्म परिवार फेला नपरेपछि अन्तत: लावारिस अवस्थामा दाहसंस्कार गर्नु परेको हो ।
विष्टको दाहसंस्कारमा मूल प्रवाहका नेताहरू मानबहादुर केसी, थमन थापा, लीला विश्वकर्मा, प्रगतिशील नेपाली जनसमाजका गोविन्द पान्डे, शान्ता पान्डे, मन्जु केसी, अखिल भारत नेपाली एकता मञ्चका डा. धनश्याम शर्मा, चन्द्रकुमार डागी र जनसम्पर्क समितिका श्याम बहादुरलगायतको उपस्थििित रहेको थियो ।
यस दु:खद घटनाले भारतमा रहेका नेपालीहरू आफ्नो पहिचान र नेपाली समाजबाट टाढिँदा भोग्नुपर्ने भयावह अवस्थालाई पुन: एकपटक उजागर गरेको मूल प्रवाहको भनाइ छ ।
