काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आइतबार दिउँसो रिहा गरेको छ।
कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार जबरालाई सुरक्षित स्थानतर्फ पठाइएको छ। प्रवक्ता एसपी रामेश्वर कार्कीले उनलाई छोराको जिम्मा लगाइएको जानकारी दिए।
यसअघि शनिबार राति महाराजगन्जस्थित निवासबाट जबरालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। कार्यालयले भौतिक आक्रमण हुन सक्ने सूचनापछि सुरक्षाका लागि उनलाई प्रहरीकहाँ ल्याइएको जनाएको थियो।
२०७५ पुसमा प्रधानन्यायाधीश बनेका जबराविरुद्ध २०७८ फागुनमा संसद्मा महाभियोग दर्ता भएको थियो। महाभियोग पारित नभए पनि निलम्बनमै रहेका बेला उनको कार्यकाल सकिएको थियो। पछि सर्वोच्च अदालतको संवैधानिक इजलासले उनीविरुद्धको महाभियोगको औचित्य समाप्त भएको ठहर गर्दै सम्बन्धित रिट खारेज गरेको थियो।
