काठमाडौँ । मनोज भट्टद्वारा लिखित ‘सहकारीमा ठगीको जालो’ पुस्तकको समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
सिर्जना डबलीको आयोजनामा २०८३ असोज १० गते अबेर राति भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा मन्तव्य राख्दै केसीले आफू सहकारी तथा गरिबी निवारणमन्त्री हुँदा राज्यपक्षले नै सहकारी ऐन ल्याउन नदिएको गुनासो सुनाउनुभयो ।
विशिष्ट अतिथि नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले सहकारी ठगीमा नाम आएका व्यक्तिलाई नै जनताले निर्वाचित गरेको बताउँदै जनताको चेतना परिवर्तन हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
कार्यक्रमको पूर्वाद्र्धमा लेखक भट्टले पुस्तकको विषयवस्तु प्रस्तुत गर्नुभएपछि समीक्षा मन्तव्य प्रस्तुत गर्दै सहकारीविज्ञ डा. खगराज शर्माले लेखकको प्रयासलाई सराहना गर्नुभयो । त्यससँगै उहाँले पुस्तकमा निष्कर्ष अझै ठोस रूपमा आएको भए उचित हुने सुझाव दिनुभयो ।
त्यस्तै अर्का समीक्षक डा. विश्वमोहन आचार्यले विद्यार्थीदेखि अनुसन्धानकर्तासम्मलाई मदत पुग्ने गरी लेखक भट्टको पुस्तक आएको बताउँदै राजनीतिकरण नै नेपालमा सहकारी ठगीको मुख्य समस्या रहेको बताउनुभयो ।
मसालका प्रवक्ता रामप्रकाश पुरीको समेत आतिथ्य रहेको सो कार्यक्रममा प्रतिभादेवी न्यौपाने, शक्तमान बुढाथोकी, लोकराज भुसाल, गङ्गालाल सापकोटाले पूरक टिप्पणी राख्नुभएको थियो ।
डबलीका अध्यक्ष समीर सिंहको अध्यक्षता तथा महासचिव भीष्म जोशीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा उपाध्यक्ष कल्पना पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा देशविदेशबाट ठुलो सङ्ख्यामा स्रोता तथा दर्शकको सहभागिता रहेको थियो ।
