स्याफ्रुबेसी (रसुवा) । विनाशकारी बाढीको २७ दिनपछि पनि रसुवाको स्याफ्रुबेसीका बाढीपीडितको जनजीवन सामान्य बन्न सकेको छैन। बाढीले सडक, पुल, घर तथा सरकारी संरचना बगाएपछि स्थानीयवासी अहिले तुइन र हेलिकोप्टरको भरमा जीवन गुजारिरहेका छन्।
भोटेकोसीमा पुल बगेपछि लामो समय आवतजावत बन्द भएकोमा गत २९ भदौदेखि तुइन सञ्चालनमा आएपछि स्थानीयलाई केही राहत मिलेको छ। प्रहरीले बिहान ९ देखि साँझ ४ बजेसम्म तुइन सञ्चालनमा सहयोग गर्दै आएको छ। दैनिक करिब ४० जनाले तुइनबाट नदी वारपार गर्ने गरेका छन्।
बाढीअघि होटल व्यवसाय र पर्यटकीय गतिविधिका कारण आर्थिक रूपमा समृद्ध मानिएको स्याफ्रुबेसी अहिले ठूलो क्षेत्र बगरमा परिणत भएको छ। चार सयभन्दा बढी घर बग्नुका साथै पालिका तथा वडा कार्यालय, सेनाको ब्यारेक र स्वास्थ्य चौकीलगायत संरचना ध्वस्त भएका छन्।
गोसाइँकुण्ड गाउँपालिका–५ का वडाध्यक्ष दावा मिङमर तामाङ र गाउँपालिका उपाध्यक्ष प्रतिमा तामाङसहित ठूलो संख्यामा स्थानीय अझै बेपत्ता छन्। पालिकाका अनुसार स्याफ्रुबेसीका मात्रै १७६ जना बेपत्ता छन्।
बाढीपीडितहरूलाई अहिले विद्यालयमा बनाइएको होल्डिङ सेन्टरमा राखिएको छ। खाद्यान्नलगायत राहत सामग्री मुख्यतः हेलिकोप्टरमार्फत पुर्याइँदै आएको छ। स्थानीयले राहतसँगै सुरक्षित स्थानमा पुनर्स्थापना र भोटेकोसीमा तत्काल बेलिब्रिज निर्माणको माग गरेका छन्।
गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले पुल निर्माण भएपछि स्याफ्रुबेसीलाई हेलिकोप्टरको भरबाट बाहिर निकाल्न सकिने बताएका छन्।
