सुर्खेत, १० असोज । लगातारको वर्षाका कारण सुर्खेतका विभिन्न क्षेत्रमा विद्युत् सेवा प्रभावित भएको छ। वर्षाका कारण विद्युत् प्रसारण लाइनका पोलमा रुख ढल्दा विद्युत् आपूर्ति अवरुद्ध भएको हो।
नेपाल विद्युत् प्राधिकरण सुर्खेतका अनुसार सुब्बाकुना–रामघाट ३३ केभी लाइनमा रुख ढलेर अवरुद्ध भएको छ। रुख हटाएर मर्मतको काम भइरहेको र छिट्टै सेवा सञ्चालन गर्ने तयारी छ।
लम्की–बाबियाचौर ३३ केभी लाइनमा ठूलो क्षति भएकाले तत्काल सेवा सञ्चालन गर्न नसकिने प्राधिकरणले जनाएको छ। वीरेन्द्रनगर बजार फिडरको ११ केभी लाइनमा पोल ढलेपछि आंशिक विद्युत् सेवा सञ्चालनमा रहेको छ भने सीतापाइला फिडरमा देखिएको फल्ट मर्मतको काम भइरहेको छ।
वर्षाका कारण अन्य क्षेत्रमा पनि ११ केभी तथा एलटी लाइनका पोल ढलेर विद्युत् सेवा अवरुद्ध भएको र मर्मतसम्भार गरी क्रमशः सेवा सञ्चालनमा ल्याउने काम भइरहेको प्राधिकरणले जनाएको छ।
