भिवाडी, २० भदौ। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नगर समिति भिवाडीले महिला नगर विभागकी सक्रिय सदस्य स्वर्गीय फुलमाया कुमालको सम्झनामा २० सेप्टेम्बर २०२६ का दिन श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ।
नगर अध्यक्ष नारायण शर्माको अध्यक्षतामा सम्पन्न उक्त शोकसभाको सञ्चालन कृष्णी राईले गर्नुभएको थियो। स्वर्गीय फुलमाया कुमालको सम्झनामा एक मिनेट मौनधारण गरेपछि सुरु भएको कार्यक्रममा उल्लेख्य संख्यामा शुभचिन्तकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित शुभचिन्तकहरूले स्वर्गीय कुमालको तस्बिरमा माल्यार्पण तथा पुष्प अर्पण गरेका थिए।
सभामा सहभागी वक्ताहरूले स्वर्गीय कुमालको जीवन, सामाजिक योगदान तथा समाजप्रतिको सक्रिय भूमिकाका बारेमा प्रकाश पारेका थिए। उहाँको जीवन र समाजलाई पुर्याउनुभएको योगदानबारे डि.बी. राना, सृष्टि राई, ध्रुव थापा, रानी थापा, तिला केसी, रामप्रसाद घिमिरे, रामबहादुर थापा, सीता पाण्डे, सबिता खत्री, गिरीबहादुर थापा, रमेश परियार र काजीराम श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो।
स्मरणीय छ, फुलमाया कुमालको २५ अगस्ट २०२६ मा मस्तिष्काघातका कारण ५४ वर्षको उमेरमा दुःखद निधन भएको थियो।
स्वर्गीय कुमालको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएपछि नेपालमा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउने व्यक्तिहरूको सम्झनामा पनि एक मिनेट मौनधारण गरिएको थियो। साथै, मृतात्माहरूको चिरशान्तिको कामना गर्दै मैनबत्ती प्रज्वलन गरिएको थियो।

