विकसित देशहरूले प्रकृतिलाई उपयोग गरेर विकासमा फड्को मारिसके। हामी भने तिनलाई पूजा गरेर अन्धविश्वासमा रुमलिएका छौँ,” केशवराजले गुनासो पोखे।
“उनीहरू शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्छन् अनि पो मानव विकाससँगै भौतिक विकास पनि सम्भव भएको हो,” युरोप पढेर फर्केकी उनकै छोरीले भनिन्।
तुलसीमा जल चढाउँदै गरेकी आमाले बाबु–छोरीका कुरा सुनिसकेपछि भनिन्, “हामी जल, सूर्य, भूमि, जीवजन्तु र वनस्पतिको पूजा गर्छौँ, देवता मान्छौँ। यो हाम्रो संस्कार हो। यसैले पनि हाम्रो पूर्वीय दर्शनअनुसार मानिस र प्रकृतिबीच घनिष्ठ सम्बन्ध रहेको छ।”
छोरीले आमाको कुरा काट्दै भनिन्, “हामीले अर्घ्य चढाउने चन्द्रमामा उनीहरूले बस्ती बसालिसके। हजुर अझै यस्ता तर्कहीन कुराहरूमा अल्झिरहनुभएको छ?”
“विकासको प्रतिस्पर्धामा लागेका ती विकसित देशहरूले प्रकृतिलाई जित्न खोज्दाको परिणाम बुझेका भए आज विभिन्न प्राकृतिक विपत्ति—भूकम्प, अतिवृष्टि, अनावृष्टि, बाढीपहिरो र वातावरणीय असन्तुलनले गर्दा पृथ्वीको यो हविगत हुन्थ्यो होला र?” आमाले कड्किँदै भनिन्।
कल्पना पौडेल ‘जिज्ञासु’
खजुरा, बाँके, नेपाल।

