चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरोका कारण अवरुद्ध सडक सञ्चालनको तयारीस्वरूप माथिल्लो भागबाट खोलिएको ट्र्याक फराकिलो बनाउन थालिएको छ। निर्माण सामग्री र उपकरण लैजान खोलिएको करिब ३५० मिटर लामो तथा चार मिटर चौडाइको ट्र्याक अहिले निर्माण प्रयोजनमा प्रयोग भइरहेको छ।
नौबिसे–मुग्लिन सडक आयोजनाका अनुसार ट्र्याक फराकिलो बनाउनेसँगै भित्ता तथा स्लोप कटिङ, ग्राभेलिङ, ग्रेडिङ र पहिरो व्यवस्थापनका काम अघि बढाइएका छन्। आगामी भदौ मसान्तसम्म सर्वसाधारणका सवारी सञ्चालन गर्न मिल्ने गरी काम तीव्र पारिएको छ।
निर्माण कम्पनी शर्मा–जेडआइभी जेभीले थप उपकरण परिचालन गरेको छ। दुई एक्साभेटर थपिएसँगै एक्साभेटरको संख्या सात पुगेको छ भने जेसिबी, लोडर र दुई बुल्डोजरसमेत परिचालन गरिएको छ। अहिले खोलिएको ट्र्याक सर्वसाधारणका लागि नभई निर्माण सामग्री ओसारपसार र कामदारको आवतजावतका लागि मात्र प्रयोग भइरहेको आयोजनाले जनाएको छ।