काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीपछि जलवायु क्षतिपूर्तिको माग उठिरहेका बेला चीनले जलवायु परिवर्तनबाट हुने असर न्यूनीकरणका लागि नेपाल तथा अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न तयार रहेको जनाएको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले जलवायु परिवर्तन विश्वव्यापी चुनौती भएकाले यसको सामना सामूहिक प्रयासबाट गर्नुपर्ने बताए। उनले नेपाल र चीन हिमाल तथा नदीले जोडिएको साझा भविष्य भएका छिमेकी रहेको उल्लेख गर्दै सीमापार विपद्बाट चीन पनि प्रभावित भएको बताए।
चीनले नेपाललाई आपत्कालीन राहत तथा प्राविधिक सहयोग जारी राखेको जनाएको छ। मौसम तथा जलस्रोतसम्बन्धी सूचना आदानप्रदानसँगै चीनले नेपालको विपद् व्यवस्थापनका लागि विशेष मौसम सूचना प्रणाली विकास गरेको छ।
चीनले राहत सामग्रीको तेस्रो खेप नेपाल पठाउनुका साथै डीएनए पहिचान विशेषज्ञहरूको टोलीसमेत पठाएको छ। चीनले नेपालको आवश्यकता र प्राथमिकताअनुसार आगामी दिनमा पनि आपत्कालीन सहायता तथा उद्धार सहकार्य जारी राख्ने जनाएको छ।
नेपालमा बाढी, पहिरो लगायत जलवायुजन्य विपद्को जोखिम बढ्दै गएपछि प्रमुख हरितगृह ग्यास उत्सर्जक राष्ट्रबाट जलवायु क्षतिपूर्ति माग्ने बहस पनि पुनः तीव्र बनेको छ।
