पाण्डेचरी, ३१ अगस्ट । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, पाण्डेचरी नगर समितिको आयोजनामा रसुवा जिल्लाको भोटेकोसी क्षेत्रमा बाढीपहिरो तथा हिमपातका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
गत १० भदौ २०८३ मा उत्तरी चीनबाट रसुवाको भोटेकोसी क्षेत्रमा आएको हिमपात तथा त्यसपछिको प्राकृतिक विपत्तिका कारण नेपालमा ठूलो जनधनको क्षति भएको जनाइएको छ । विपत्तिमा सयौँको संख्यामा मानिसले ज्यान गुमाउनुका साथै कैयौँ मानिस अझै बेपत्ता रहेको र खोज तथा उद्धार कार्य जारी रहेको बताइएको छ ।
देश शोकमा डुबेको अवस्थामा प्रवासमा रहेका नेपालीहरूको मनसमेत दुःखित भएको भन्दै सभामा सहभागी वक्ताहरूले विपत्तिप्रति गहिरो दुःख व्यक्त गरेका थिए ।
श्रद्धाञ्जली सभामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय कोषाध्यक्ष चन्द्रकान्त शर्माले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरेका थिए । मन्तव्यका क्रममा शर्माले यस्तो कठिन परिस्थितिमा सरकारले खोज तथा उद्धार, राहत, सहयोग र पीडितहरूको व्यवस्थापन कार्यलाई अझ तदारुकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य भगवती कुँवर, नगर सदस्यहरू बलबहादुर केसी, विष्णु शर्मा र जमुना शर्माले समेत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको अध्यक्षता मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, पाण्डेचरी नगर समितिका अध्यक्ष गोविन्द शर्माले गरेका थिए भने सञ्चालन नगर समितिका उपाध्यक्ष गमबहादुर विकले गरेका थिए ।