संयुक्त राष्ट्रसङ्घ, ११ भदौ (रासस/सिन्ह्वा) । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बदलिँदो विश्व सुरक्षा परिस्थितिअनुसार संयुक्त राष्ट्रसङ्घीय शान्ति अभियानलाई थप प्रभावकारी, चुस्त र राजनीतिक समाधानमुखी बनाउनुपर्ने बताउनुभएको छ । उहाँले बढ्दो द्वन्द्व, परिवर्तनशील भूराजनीति र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबीच शान्ति अभियानलाई नयाँ वास्तविकताअनुकूल बनाउन आग्रह गर्नुभएको हो ।
संयुक्त राष्ट्र महासभाको अनौपचारिक पूर्ण बैठकलाई मङ्गलबार सम्बोधन गर्दै उहाँले विगत आठ दशकमा द्वन्द्वको स्वरूप र सामूहिक सहकार्यको सम्भावना परिवर्तन भएकाले शान्ति अभियानसम्बन्धी दृष्टिकोण पनि विकसित भएको बताउनुभयो । अब विश्वमा देखिएका नयाँ चुनौतीअनुसार अभियानलाई पुनः अनुकूलन गर्नुपर्ने उहाँको भनाइ थियो ।
गुटेरेसका अनुसार विश्वको भूराजनीतिक अवस्था परिवर्तन भइरहेको, शक्ति विभिन्न क्षेत्रमा फैलिँदै गएको र प्रभावका नयाँ केन्द्र तथा प्रतिस्पर्धाका नयाँ रेखा निर्माण भइरहेका छन् । अन्तरराज्यीय द्वन्द्व पुनः बढ्नुका साथै आन्तरिक द्वन्द्वसमेत अन्तर्राष्ट्रियकरण हुँदै गएर लामो र समाधान गर्न कठिन बन्दै गएको उहाँले बताउनुभयो ।
बारम्बार दोहोरिने द्वन्द्व, युद्धको बदलिँदो स्वरूप र व्यापक शान्ति सम्झौताको सम्भावना घट्दै गएको उल्लेख गर्दै उहाँले संयुक्त राष्ट्रसङ्घले शान्ति अभियानको प्रयोग र अवधारणामै पुनर्विचार गर्नुपर्ने बताउनुभयो ।
उहाँले निवारक कूटनीति, शान्ति स्थापना र विवादको शान्तिपूर्ण समाधानलाई प्राथमिकता दिनुपर्ने बताउँदै शान्ति अभियानलाई थप चुस्त र लागत प्रभावकारी बनाउन, जवाफदेहिता बलियो पार्न तथा आधुनिक प्रविधिको प्रयोग बढाउन आग्रह गर्नुभयो । साथै, विश्वव्यापी र क्षेत्रीय संस्थाबीचको सहकार्य थप सुदृढ गर्नुपर्ने उहाँको भनाइ थियो ।
महासचिव गुटेरेसले शान्ति अभियान मूलतः राजनीतिक उपकरण भएको स्पष्ट पार्दै यसको सफलता उपयुक्त कार्यादेश, द्वन्द्वरत पक्षको इच्छाशक्ति तथा सुरक्षा परिषद्, सदस्य राष्ट्र, सम्बन्धित देश र अन्तर्राष्ट्रिय साझेदारको सहयोगमा निर्भर रहने बताउनुभयो ।
उहाँले बदलिँदो विश्वअनुसार संयुक्त राष्ट्रसङ्घले आफूलाई अनुकूल बनाउँदै शान्तिको बाटो निर्माण गर्न आवश्यक राजनीतिक इच्छाशक्ति र स्रोत जुटाउन सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।