काठमाडौँ, भदौ ७ । नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले प्रतिक्रियावादी शक्तिहरूले कम्युनिस्ट आन्दोलनमाथि निरन्तर प्रहार गरिरहेको बताउनु भएको । उहाँले तत्कालीन सत्ताको नेतृत्व गरेका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का कमजोरीका कारण कम्युनिस्ट आन्दोलन कमजोर बनेको दाबी गर्दै आफ्ना गल्ती सच्याउन उनीहरूलाई सुझाव दिनुभएको छ ।
भदौ ७ गते आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै पुरीले ओली र प्रचण्डको नेतृत्वमा रहेको तत्कालीन नेकपा विघटन भएपछि त्यसको असर विभिन्न वामपन्थी शक्तिमाथि परेको बताउनु भयो ।
उहाँले भन्नुभयो, “प्रतिक्रियावादी शक्तिहरूले प्रहार गर्ने भनेको कम्युनिस्ट पार्टीलाई हो । केपी ओली र प्रचण्डले नेतृत्व गरेको नेकपा विघटन भयो । उनीहरूले संशोधनवादीलाई पनि सखाप गरे, वामपन्थीलाई पनि सखाप गरे, हामीलाई पनि प्रहार भयो ।”
पुरीले ओली र प्रचण्डले सत्तामा रहँदा गरेका कमजोरीका कारण कम्युनिस्ट आन्दोलनमा समस्या आएको उल्लेख गर्दै त्यसको असर नेकपा मसालमाथि समेत परेको बताउनु भयो । “सत्तामा ओलीजी र प्रचण्डजीले कमजोरी गरेका हुन्। तर प्रहार हामीमाथि पनि भयो। हाम्रो पार्टी त सत्तामा थिएन नि,” उहाँले भन्नु भयो ।
राष्ट्रियता र जनजीविकाका सवालमा समान धारणा भएका वामपन्थी शक्तिहरूसँग पार्टी एकता वा सहकार्य गर्न आफूहरू तयार रहेको पनि पुरीले बताउनु भयो । उहाँले जनताका आधारभूत समस्या र राष्ट्रिय हितका विषयमा सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।