काठमाडौं, भदौ ७ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको पुनर्जीवनका लागि सहकार्य, एकता र पुनर्गठन आवश्यक रहेको बताएका छन्।
काठमाडौंमा आयोजित ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रियामा उनले कम्युनिस्ट शक्तिहरू जनताबाट टाढिँदै गएको स्वीकार गर्दै विगतका कमजोरीको समीक्षा गर्नुपर्ने बताए।
प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिले कम्युनिस्ट शक्तिहरूलाई एक ठाउँमा उभिनुपर्ने अवस्था सिर्जना गरेको उल्लेख गर्दै आन्दोलनको रक्षाका लागि एकताको विकल्प नरहेको बताए। उनले एमाले, नेपाली कम्युनिस्ट पार्टी, नेकपा मसाललगायत शक्तिबीच प्रदेश तहमा सहकार्य सुरु भएको जानकारी दिए।
सरकारमा जाने उद्देश्यभन्दा कम्युनिस्ट आन्दोलनको पुनर्गठन र नयाँ राजनीतिक आन्दोलन निर्माणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो। श्रमजीवी जनतासँग सम्बन्ध पुनः स्थापित गर्न सके मात्रै राजनीतिक रूपान्तरण सम्भव हुने उनले बताए।