भारत, भदौ ५ । पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–२, कोकलधारा स्थायी घर भई हाल भारतको हरियाणा राज्यको हिसारस्थित सातरोडमा रहेको जिन्दल रोलिङ मिलमा कार्यरत तारा बहादुर दर्जीको कार्यस्थल दुर्घटनामा मृत्यु भएपछि उनको परिवारले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सक्रियतामा ठूलो राहत पाएको छ ।
जिन्दल रोलिङ मिलमा काम गर्ने क्रममा १७ अप्रिल २०२६ मा ब्लाडर फुटेर गम्भीर घाइते भएका दर्जीको जिन्दल अस्पतालमा उपचारकै क्रममा ७ मे २०२६ मा दुःखद निधन भएको थियो । घटनाको जानकारी पाएलगत्तै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले पीडित परिवारसँग सम्पर्क गरी आवश्यक सहयोग, सल्लाह र सुझाव प्रदान गर्दै आएको थियो ।
दर्जीको मृत्युपछि जिन्दल मिलका सिनियर कर्मचारीहरूले जिम्मेवारीबाट पन्छिन खोज्दै ढुलमुले व्यवहार देखाएपछि मूल प्रवाहको नगर समिति टोलीले मिल प्रशासनविरुद्ध कडा प्रतिरोध गर्दै दबाब सिर्जना गरेको थियो। मूल प्रवाहको निरन्तर दबाबपछि मिल प्रशासन पीडित परिवारलाई आर्थिक राहत उपलब्ध गराउन, परिवारका एक सदस्यलाई स्थायी रोजगारी दिन तथा मृतककी श्रीमतीलाई मासिक पेन्सन उपलब्ध गराउन लिखित सम्झौता गर्न बाध्य भएको थियो। उक्त सम्झौता भएपछि मात्र दर्जीको दाहसंस्कार गरिएको थियो।
राहत रकम उपलब्ध गराउने प्रक्रिया अघि बढाउने क्रममा मृतकको आधार कार्ड तथा बैंक खाता नभएको र नेपाली पासपोर्टबिना बैंक खाता खोल्न नमिल्ने कानुनी जटिलता उत्पन्न भएको थियो। उक्त समस्या समाधानका लागि नयाँ दिल्लीस्थित नेपाली दूतावास तथा सन्धिखर्कमा प्रत्यक्ष फोनमार्फत समेत निरन्तर समन्वय र आवश्यक पहल गर्दै पाँच महिनासम्म दबाब दिइएको थियो।
मूल प्रवाहका नगर अध्यक्ष तथा सुदूर पश्चिमोत्तर क्षेत्रीय कोषाध्यक्ष बाबुराम पोखरेलको नेतृत्वमा केन्द्रीय सदस्य तथा सुदूर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष तारा सोमारे, परिषद् सदस्य केयर सिंह घर्तीमगर, नगर समितिका सुरेश कुमार क्षेत्री, लालबहादुर चुदाली, चन्द्रप्रकाश गैरे, नन्दबहादुर लम्तरी, दुर्गा ज्ञवाली, सीता पोखरेल, कमला बगाले, नारायण विक, रामु भुर्तेललगायत नेता तथा कार्यकर्ताहरूको अथक प्रयासपछि १८ अगस्ट २०२६ मा मृतककी श्रीमती लक्ष्मी दर्जीको नाममा बैंक खाता खोल्न सफल भएको थियो ।
खाता खोलिएकै दिन जिन्दल रोलिङ मिलको तर्फबाट भारतीय रुपैयाँ ५ लाख ४५ हजारको चेक दिवंगत तारा बहादुर दर्जीकी श्रीमती लक्ष्मी दर्जीलाई हस्तान्तरण गरिएको छ।
यसैगरी, सम्झौताअनुसार बाँकी ७ लाख रुपैयाँ राहत रकम, मृतककी श्रीमतीलाई मासिक पेन्सन तथा परिवारका एक सदस्यलाई रोजगारी उपलब्ध गराउने विषयमा आवश्यक कागजी प्रक्रिया पूरा हुनासाथ सुविधा उपलब्ध गराइने जानकारी मिल प्रशासनले दिएको मूल प्रवाहका केन्द्रीय सदस्य तथा सुदूर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष तारा सोमारेले बताउनुभएको छ ।
मूल प्रवाहको निरन्तर पहल, दबाब र समन्वयका कारण लामो समयदेखि प्रक्रियामा रहेको राहत तथा क्षतिपूर्तिको विषय अघि बढेको भन्दै पीडित परिवारले सहयोगका लागि मूल प्रवाहप्रति आभार व्यक्त गरेको छ ।