मिलन शाही, राष्ट्रिय जनमोर्चा बाइसौँ पार्टीस्कुलका प्रशिक्षार्थी
0 राष्ट्रिय जनमोर्चाको बाइसौँ पार्टीस्कुलमा भाग लिन आउनुभएका राजमो कैलालीका अध्यक्ष मिलन शाहीलाई युगदर्शन मिडियामा स्वागत गर्न चाहन्छौँ ।
– धन्यवाद ।
0 आरामै हुनुहुन्छ ?
– ठिकै छ सर ।
0 अनि प्रशिक्षणमा त पूरै दिन बस्नुभयो, होइन ?
– अँ, बसेँ ।
0 कस्तो रह्यो त यो प्रशिक्षण ?
– प्रशिक्षण एकदमै उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो । सुरुमा हामीले अर्कै सोचेका थियौँ तर प्रशिक्षण सोचेभन्दा धेरै राम्रो भयो । हाम्रा महामन्त्रीको दार्शनिक अध्ययन र सिकाउने कलाका साथै अन्य प्रशिक्षक साथीहरूको क्षमताले गर्दा उपस्थित सम्पूर्ण साथीहरू साह्रै उत्साहित भएका छौँ ।
0 यो १५ दिने प्रशिक्षणको क्रममा कुनकुन विषयमा कक्षा लिनुभयो ?
– यो १५ दिनको अवधिमा माक्र्सवाद–लेनिनवाद, ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवाद, स्वास्थ्यसम्बन्धी विषय र व्यावहारिक कक्षालगायत थुप्रै विषयमा अध्ययन–अध्यापन भयो ।
0 जति पनि विषय सिकाइए, तीमध्ये तपाईंलाई सबैभन्दा बढी मन परेको वा प्रस्टसँग बुझेको विषय कुन थियो ?
– अचेल पढ्ने संस्कृति अलि घटेको छ । मन पर्ने विषयको कुरा गर्दा माक्र्सवाद–लेनिनवाद र द्वन्द्वात्मक भौतिकवाद नै हो । यी सिद्धान्त र विचार अध्ययन गर्दा साह्रै रुचि लाग्छ ।
0 यो प्रशिक्षणमा पनि तपाईंहरूलाई माक्र्सवाद–लेनिनवादका विषयमा पढाइयो ?
– पढाउनुभयो, एकदमै राम्रोसँग पढाउनुभयो ।
0 त्यो तपाईंले बुझ्नुभयो त ?
– अँ, बुझेँ । माक्र्सवाद–लेनिनवादले कुनै पनि घटना वा वस्तुको सही र वस्तुनिष्ठ ढङ्गले, प्रमाणसहित व्याख्या र विश्लेषण गर्छ । सही कुराको सही मूल्याङ्कन गर्ने यसको पदार्थनिष्ठ दृष्टिकोणले गर्दा नै मलाई यसमा बढी रुचि लागेको हो ।
0 अघिल्ला पार्टी स्कुलभन्दा यसपालि ‘व्यावहारिक कक्षा’ वा व्यावहारिक प्रशिक्षणमा बढी जोड दिइयो भन्ने कुरा छ । कस्तो रह्यो त्यो व्यावहारिक प्रशिक्षण ?
– पहिले भारतमा वा जिल्ला र क्षेत्रमा पनि पार्टी कक्षा लिइन्थ्यो तर यसपालि केन्द्रीयस्तरको पार्टीस्कुलमा सहभागी हुन पाउँदा धेरै खुसी र उत्साहित छौँ । पार्टीले सञ्चालन गरेको व्यावहारिक कक्षाले कार्यकर्तालाई काम गर्ने सही दिशानिर्देश गरेको छ ।
गाउँघरमा मानिसहरू राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल) लाई सही पार्टी त भन्छन् तर भोट दिने बेला दिँदैनन्, तैपनि हामी सिद्धान्तमा स्पष्ट छौँ । माक्र्स, लेनिन र हाम्रा महामन्त्री मोहनविक्रम सिंहले अँगाल्नुभएको दार्शनिक बाटोलाई नेपालका अन्य वामपन्थी दलले पनि
इमानदारीपूर्वक पछ्याउने हो भने समाजवाद र साम्यवाद असम्भव छैन । यो प्रशिक्षणले आदिम साम्यवाददेखि पुँजीवादसम्मको विकासक्रम र पुँजीवादको पतन अवश्यम्भावी छ भन्ने कुरालाई व्यावहारिक रूपमा प्रस्ट पारेको छ । यसले हामीमा नयाँ ऊर्जा थपेको छ ।
0 कम्युनिस्ट बढी अध्ययन गर्छन् र त्यसमा पनि मसाल–राजमोका कार्यकर्ता अझ बढी पढ्छन् भनिन्छ । यत्तिका अध्ययन गर्ने कार्यकर्ताका लागि पनि यस्तो केन्द्रीयस्तरको प्रशिक्षण आवश्यक थियो र ?
– एकदमै आवश्यक छ । पछिल्लो समय प्रविधिको विकास र मोबाइलको प्रयोगले गर्दा मानिसमा अध्ययन गर्ने बानी घटेको छ । कार्यकर्तामा पनि केही निष्क्रियता वा अध्ययनमा कमी आएको देखिन्छ । त्यसैले यस्ता कक्षाले हराउँदै गएको बानीलाई सुधार्न र नयाँ ऊर्जा भर्न मदत गर्छन् । महामन्त्रीको समयअनुकूल भएमा यस्ता कक्षा प्रदेश र जिल्लास्तरमा पनि निरन्तर चलाउनुपर्छ, जसले गर्दा निष्क्रिय भएका साथीहरू पुन: क्रियाशील हुन सकुन् ।
0 अब यो प्रशिक्षणपछि जिल्ला फर्किंदा कसरी काम गर्ने सोच बनाउनुभएको छ ?
– पार्टीले दिने योजना र निर्देशिकाअनुसार नै काम गर्ने हो । व्यवहार र घरका व्यावहारिक र आर्थिक समस्यालाई सन्तुलनमा राख्दै तोकिएको क्षेत्र र जिल्लामा आफ्नो क्षमताले भ्याएसम्म इमानदारीपूर्वक जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
0 १५ दिनको यो प्रशिक्षणपछि तपाईंलाई थप केही विशेष जिम्मेवारी दिइएको छ ?
– त्यस्तो नयाँ जिम्मेवारी त केही तोकिएको छैन तर अब हुने जिल्ला सम्मेलन, नगर तथा वडास्तरका कार्यक्रम र साङ्गठनिक गतिविधिलाई तीव्रता दिने काम हुने छ । साथै अध्ययन र पुस्तक पढ्ने क्रमलाई निरन्तरता दिनुपर्छ भन्ने कुरालाई मनन गरेको छु ।
0 अन्त्यमा युगदर्शन मिडियामार्फत केही भन्नुपर्ने कुरा बाँकी छन् ?
– सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला र मेरो व्यक्तिगत तर्फबाट युगदर्शन मिडिया तथा कार्यकारी सम्पादक प्रकाश थापामगरलगायत सम्पूर्ण मिडिया टोलीलाई धेरैधेरै धन्यवाद । सम्पूर्ण दर्शक तथा कम्युनिस्ट विचारधारा मान्ने वर्ग र समुदायलाई माक्र्सवाद–लेनिनवादलाई वस्तुनिष्ठ रूपमा बुझेर देशलाई समाजवाद उन्मुख दिशामा लैजान हातेमालो गर्न अपिल गर्दछु ।