काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि तय गरिएको कार्यतालिका प्रभावित हुन थालेसँगै निर्धारित समयमै महाधिवेशन हुनेमा संशय बढेको छ। भदौ २ गतेदेखि सुरु गर्ने भनिएको वडा अधिवेशन अन्तिम समयमा स्थगित भए पनि नयाँ मिति तोकिएको छैन।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार प्राकृतिक विपत्ति र मौसमको अवस्था हेरेर स्थानीय तहमा निर्वाचन अधिकृतहरूले अधिवेशनको मिति तय गर्नेछन्। यसैबीच, पार्टीको क्रियाशील सदस्यता नवीकरण, अद्यावधिक र वितरणको काम पनि पूर्ण रूपमा टुङ्गिएको छैन।
महामन्त्री प्रदीप पौडेलले सदस्यता व्यवस्थापनको काम लगभग सकिएको र केही प्राविधिक विषय मिलाउन बाँकी रहेको बताएका छन्। सभापति गगन थापाले इतर समूहसँग सहमति कायम गर्न २० दिन प्रयास गर्ने बताएका छन्।
वडा अधिवेशन ढिलाइसँगै जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशनसमेत प्रभावित हुने भएकाले कांग्रेसको १५औँ महाधिवेशन निर्धारित समयमै सम्पन्न हुनेमा अन्योल बढेको छ।