काठमाडौँ, साउन २९ । अखिल नेपाल महिला संघकी महासचिव शकुन्तला रानाको ५५ वर्षको उमेरमा दुःखद निधन भएको छ। भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचारका क्रममा उहाँको निधन भएको हो। उहाँ विगत एक वर्षदेखि क्यान्सरको उपचार गराइरहनुभएको थियो।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–५, असुरकोट निवासी राना महिला मुक्ति आन्दोलनकी अथक योद्धा हुनुहुन्थ्यो। सर्वहारा वर्गीय मुक्ति आन्दोलनमा निरन्तर सक्रिय उहाँले आफ्नो व्यक्तिगत तथा पारिवारिक जीवनसमेत आन्दोलनमा समर्पित गर्नुभएको थियो । श्रमिक, उत्पीडित समुदाय तथा महिलाका अधिकारका पक्षमा उहाँले सशक्त रूपमा निरन्तर आवाज उठाउँदै आउनुभएको थियो।
अखिल नेपाल महिला संघको महासचिवको जिम्मेवारी सम्हाल्दै रानाले संगठन विस्तार, महिला सहभागिता अभिवृद्धि तथा महिलामाथि हुने विभेद, हिंसा र उत्पीडनविरुद्धका अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
भारतीय समय अनुसार साँझ ९ बजेर २५ मिनेट जाँदा अस्पतालले रानाको निधन भएको घोषणा गरेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका उपाध्यक्ष कपिल खनालले युगदर्शनलाई जानकारी गराउनु भएको छ ।