• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, साउन २८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पत्रकार श्रेष्ठलाई पक्राउ गरिएकोमा प्रगतिशीलको विरोध

राजमो गुल्मीका नेता हीरा तरामुको निधन

लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

अग्निसपन्दनको रापताप

लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

सर्पले डसेर महिलाको मृत्यु

ग्यास अभावले खाना पकाउन समस्या भएपछि चितवनमा सहुलियतको खाना

ओखलढुङ्गाको डाँडाखर्कमा दुई दशकदेखि निरन्तर पहिरो, पाँच परिवार उच्च जोखिममा

लोकप्रिय समाचार

  • १. लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

  • २. राम कार्कीले छाडे प्रगतिशील लोकतान्त्रिक पार्टी

  • ३. राजमो गुल्मीका नेता हीरा तरामुको निधन

  • ४. लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

  • ५. राजमोको बाइसौँ पार्टीस्कुल समापन

  • ६. तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुँदै

  • ७. एमाले कार्यदल प्रतिवेदनको निष्कर्ष : केपी शर्मा ओली नेतृत्वको वैधानिकता समाप्त

  • ८. ‘नेपालमा अब तीन खालका पार्टी मात्रै टिक्छन्’ : विप्लव

  • ९. लघुवित्तपीडितका समस्या समाधान गर्न तीन किसान सङ्गठनको माग

  • १०. मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

अग्निसपन्दनको रापताप


  •   बुधबार, साउन २७, २०८३ मा प्रकाशित
  • मेरो अस्तित्वको गहिराइमा
    कुनै शून्यता छैन
    त्यहाँ त
    पटकपटक बल्झिएको ज्वालामुखी छ
    धर्तीको गर्भ जस्तो !
    यो अग्नि
    एकै दिनको उपज होइन
    कालखण्डका अस्तिपञ्जरहरुमा सञ्चित
    अन्यायपूर्ण चोषणको पुरातन ताप हो
    जसले युगौँदेखि
    आफ्नो परिचय खोजिरहेको थियो ।
    कल्पना पौडेल जिज्ञासु
    (अग्निस्पन्दन)

    Advertisement

    यी माथि उल्लेखित विद्रोहात्मक गुन्जन कविका हुन् । जहाँ, युगौँदेखि गुम्सिएका असन्तुष्टि, असमानजस्यता, अपारदर्शीता, अन्याय, अत्याचार, दमन, शोषणको मरुभूमि बनाइयो । यसैको पर्दाफास नै अग्निस्पन्दनको स्पर्श हो । समाज अझै रूढीग्रस्त सोचले चलिरहेको छ । जताततै दानवपन, भयभीत अवस्था, दबिएका नारी स्वर, अस्तित्वविहिन जीवनयापन अनि चेतनाविहिन समाज । समयको पदचाप द्रूत गतिमा अगाडि बढीरहेको छ तर समयअनुसार मानवीय सोच, चिन्तन, चरित्र, संस्कार, संस्कृति र व्यवाहारमा परिवर्तन आउन नसकेको कविको चिन्तन छ । खासगरी उच्च वर्गले निम्न वर्गलाई, शोषकले शोषितलाई विभिन्न परिबन्दको भासमा डुबाएको साक्षी छ ।

    नारी सन्तान उत्पादन गर्ने कारखाना मात्रै होइनन् । समाजका खेलौना होइनन्, नारी त अस्तित्वका पुञ्ज हुन् । नारीमा शक्ति छ, भक्ति छ अनि सहनशीलताको पुञ्ज छ । नारी दुर्गा, सरस्वती, काली, लक्ष्मी आदि सर्वथोक हुन् । नारी कमजोरीका द्योतक मात्रै होइनन्, अदृश्य ज्वाला पनि हुन् । समाजमा जतिसुकै अन्याय, अत्याचार, कुरीति, कुसंस्कारको जालोमा लेपन लगाउन खोजे पनि हरेक नारी दरो र खरो रूपले उत्रन कविको उद्गार छ । जसको ज्वलन्त उदाहरण एउटा श्लोक हेरौँ :

    याद राख !
    म मूर्ति होइन
    म चलायमान अग्नि हुँ
    जब मेरो श्वास गहिरो हुन्छ
    तब ध्वस्त हुन थाल्छन्
    रूढीवादी किल्लाहरू !
    (अग्निसपन्दन)

    अग्निस्पन्दनभित्र मानव जीवनका अनेकौं भावचेष्टा, सत्कर्म – कुकर्म, सुविचार – कुविचार, आशा – निराशा आदि सबै जडित पुञ्ज हो । यहाँ वर्तमान परिवेशको भूपरिवेष्ठित चिन्तनलाई गहन रूपमा प्रस्तुत गरिएको छ । विश्वपरिवेशीयरूपमा अहिले विशेषगरी सामाजिक सञ्जालको व्यापक प्रयोग भइरहेको छ । यसका फाइदा र बेफाइदा दुबै पाउन सकिन्छ । यसको नकारात्मक प्रभावले मानवमस्तिष्कमा पार्ने असरलाई कवितामा विम्बात्मक प्रस्तुति दिइएको छ । घरमा ठूलो परिवार हुँदा पनि घर शान्त छ अर्थात् घर बोल्दैन । मनमा अनगिन्ती पीडा, अशान्ति, बेचैनी छ तर एकले अर्कोसँग भावना साट्दैन । कैयौं बालबालिकाहरू सामाजिक सञ्जालको गलत प्रयोगले कलिलो मस्तिष्कमा नकारात्मक विचार जन्माउन पुग्छन् । त्यसको गलत प्रयोगले अमूल्य जीवन छियाछिया पार्दै जीवन नष्ट पारेका यथार्थपरक घटना देख्न सकिन्छ । यसको दुरुपयोगले समाज दिनानुदिन गलत बाटोतर्फ मोडिएको यथार्थ प्रस्तुति कवितामा भेट्न सकिन्छ ।

    पाश्चात्य संस्कार, रीतिरिवाज, चालचलनले आफ्नो नेपालीपन बिर्सिएको, आफ्नो संस्कृति, भाषा, पहिचान र परम्परागत धरोहरहरू खण्डित हुन पुगेको स्रष्टाको चिन्ता छ । समाजको बहाफसँगै द्रुत गतिमा अगाडि बढेको सामाजिक सञ्जाललाई सही मार्ग निर्देश गर्नुपर्दछ । मानिसमा भ्रम, अफवाह फैलाउनु हुँदैन । एउटै विषयवस्तुलाई पनि फरकफरक रूपमा समाचार गरि जनतालाई भ्रमित बनाउने दुष्प्रासप्रति कविको गहिरो चिन्ता देख्न सकिन्छ :

    चम्किला स्क्रिनहरूले भरिएका सहरहरूमा
    अदृश्य अन्धकार फैलिदैछ
    सूचना प्रवाहको तीब्र वेगका कारण
    सत्य र असत्यको सीमारेखा मेटिदैछ
    एउटै सन्देश बहुरूपले धारण गर्छ
    अनगिन्ती माध्यममार्फत
    मनमनमा प्रवेश गर्छ ।
    (अदृश्य युद्ध : १३)

    समयको बहाफसँगै अहिले समानता, समावेशीता, स्वतन्त्रताका नारा घन्किएका छन् । तत्कालीन समाजमा पितृसत्तात्मक राज्यसंरचनाका कारण नारी दमन अत्यधिक भएको चर्चा कवितामा छ । नारीलाई घरको चौघेरामा बन्धक राखी नारी स्वतन्त्रता हनन् गरेको तीतो यथार्थता कवितामा कारुणिक रूपले प्रस्तुत गरिएको छ । समयको प्रवाहसँगै खुलेको नारी चेतलाई पनि गुम्स्याउन खोज्नु, अझै बाधा, अड्चन दिन खोज्ने, नारीलाई हरेक तह तप्कामा नेतृत्वदायी भूमिका दिन अविश्वास गर्ने आदि सङ्कुचित सोच अझै जीवितै छ भन्ने तथ्य कविमनबाट पोखिएको छ । जुन एउटा श्लोक यसरी दर्साउन सकिन्छ :

    आँखाभरि आकाश बोकेकी स्त्री
    बाहिरी वासन्ती मुस्कान
    भित्रभित्रै साउनको कालो बादल थामेकी
    उसको घरमा शब्दका हतियार छन्
    नदेखिने तर तीखा खञ्जर जस्तै
    दैनिक हृदय चिर्ने !
    तिमी सक्दिनौ
    एउटा कर्कश वाक्य
    काढिएका पखेटा काट्ने ……
    (देखिदैनन् यी घाउहरू : १५)

    भित्र आफ्ना लाखौं चाहनालाई तिलाञ्जली दिदै नारीले कष्टमय जीवन व्यथित गरेको यथार्थतालाई कवितामा पस्किएको छ । समयको बहाफसँगै एउटी नारी छोरी, श्रीमती, बुहारी, आमा, हजुरआमा सबथोक बन्छे तर आफू बन्न नसकेको यथार्थ चित्रण कवितामा प्रस्तुत गरिएको छ ।

    यति भन्दै गर्दा पुरूषबाट नारी मात्रै दमित छैनन् । पछिल्लो समयलाई गहन रूपले नियाल्ने हो भने महिलाबाट प्रताडित पुरूषको सङ्ख्या पनि कम छैन । आफ्नो ज्यानको प्रवाह नगरी जहान परिवारको सुनौलो सपना बोकी खाडी छिरेको श्रीमान्  गाँस न बासको परिस्थितिमा छ । कुरो महिला पुरूषको मात्रै होइन । विभिन्न जातजाति, धर्म, लिङ्ग, भूगोल, भाषाभाषी, वर्ण आदिमा पनि विभेद छ । समाजका यी विषम् कुराहरूमा पनि स्रष्टाको ध्यान केन्द्रित हुन जरूरी देख्छु । एउटै पक्षलाई मात्रै केन्द्रित गरेर समाजले गति लिन सक्दैन । तसर्थ, राज्यसंयन्त्र प्रणाली बलियो बनाएर विशेषगरी देशको कानुनी पक्ष सबल रूपमा कार्यन्वयन गर्दै/गराउँदै समावेशी, समानुपातिक, सहकार्य, सहअस्तित्व, शिक्षा, स्वतन्त्रता आदिमा सबै वर्ग, लिङ्ग, जातजातिको प्रत्यक्ष सहभागिता बढ्दै गएमा विभेदजन्य कार्य बिस्थापन हुन सक्ने सम्भावना रहन्छ ।

       सन्तानका लागि आमा संसारकै एक अमूल्य रत्न हुन् । एउटी आमाको लागि संसारकै खुसी मिल्ने भनेको आफ्नो सन्तानको प्राप्ति हो । जस्तोसुकै दुख झेल्न सक्छिन एउटी आमाले आफ्नो सन्तानको लागि । आफ्ना अनगिन्ती दुख, कष्टहरू लुकाउँदै सन्तानका लागि कृत्रिम हाँस्न सक्ने एउटी महान् आमाको कीर्तिगाथा कवितामा प्रस्तुत गरिएको छ । आफ्ना कैयौँ  सपनाहरूलाई तिलाञ्जली दिदै सन्तानको खुसीमा जीवन समाहितगर्न सक्ने त्यागी, तपस्वी, सहनशील, कर्मशील, प्रयत्नशील, विवेकशील आमाको महिमागान यस कविताले बोकेको छ । सन्तानको भविष्य निर्माणमा आफ्ना अनमोल सपनाहरूलाई बन्धक राख्दै मुग्लान, विदेशी मरूभूमिमा आफ्नो जिउज्यान धरापमा पार्दै चट्टानरूपी आमाको सङ्घर्षमय कथा, व्यथालाई कविताका हरेक अंशहरूले विम्ब बोकेका देखिन्छन् ।

    सन्तानका लागि आमाको महान् त्याग हुँदा पनि वयवृद्ध अवस्थामा तिनै सन्तान आमाबुबाको सहारा नहुँदा कतिपय आमाबुबा वृद्धाश्रम पुग्नुपरेको यथार्थ भाव कवितामा अभिव्यक्त गरिएको छ । सन्तानले जतिसुकै पीडा दिए पनि हाँसीहाँसी स्वीकार गर्न सक्ने महान आमाको महिमागानको श्लोक तल प्रस्तुत गरौँ :

    आमा ती हुन्
    जो हाँस्छिन्
    जूनको उज्यालोले नुहाएको रातझैँ
    तर त्यो हाँसोको तहभित्र
    अनगिन्ती चिच्याहटरू
    बलात थुनिएका हुन्छन्
    उनका ओठहरूमा उज्यालो बस्छ
    तर आँखाका गहिराइमा
    अनेक अधुरा प्रलापहरू
    निस्सासिएर निद्रामग्न हुन्छन् ।

    आमा ती हुन्
    जो सन्तानको निम्ति
    सन्तानकै स्वप्न वहन गर्दै
    एकदिन
    आफ्नै धमनी र शिराहरू विदीर्ण गरेर
    सानासाना औंलाहरूको स्निग्धता
    काखाबाट छुटाएर
    सन्तानकै खातिर
    मुग्लान भासिन्छिन् ।
    (आमा ती हुन्  : २०/२१)

    मानव र प्रकृतिबिच तादात्मीय सम्बन्ध स्थापित हुन सकेन भने भयावह अवस्था सिर्जना हुन सक्छ । मानव, प्रकृति र वन्यजन्तु एकअर्काका परिपूरक नै हुन् । जसले यो सृष्टि नै थामेको छ भन्दा अतिशयोक्ति नहोला । आज दिनानुदिन प्रकृतिको मुहार विदीर्ण देखिदै गएको छ । ती सुन्दर घुम्टो ओढेर लजाइरहेकी प्रकृतिको शीर आज कुनै पहिरनयोग्य ताज छैन । उनको मुहारमा कुनै तेजोपन अनि गुलाफी मुस्कान छैन । छ त केवल  फुङ्ग उडेको सुख्खा मुहार अनि टल्किएका सुख्खा निधाररूपी फोहरी, कुरूप ढुङ्गाहरू । यसरी मानवले सुन्दर प्रकृतिको दोहन गरेको छ । यिगौँदेखि मानव, प्रकृतिबिचको सहसम्बन्ध उजाडिदै गएको छ । मानवबाट प्रकृतिले भयानक प्रताडना सहेको छ । साह्रै असह्य भएपछि भुकम्प, बाढी, पहिरो, जलवायु परिवर्तन एवम् प्राकृतिक विपद्  निम्तिन्छ । यही मानवीय दुष्प्रयासलाई रोक्न धर्तीलाई मानवीकरण गर्दै सचेतना फैलाउने कविको यो उत्कृष्ट मानवचेतलाई स्रहानीय कदम मान्न सकिन्छ ।

    तिमीलाई लाग्ला
    म माटोमात्र हुँ
    एक विलोपनशील खण्ड
    माटो मात्रै होइन
    म त ब्रह्माण्डको निषेचित गर्भ हुँ
    जसबाट जन्मन्छ्न्
    विषम सम्यका सभ्यताहरू
    म त्यस्तो सघन रेखा हुँ
    जसले जीवनको प्रादुर्भाव गर्छ…….
    (धर्तीको चिठी : २२)

    कविभित्र देशप्रेम छ । जसरी विदेशी भूमिमा रापतापसहित काम गर्छौँ, नेपाली भूमिमा शीतलताका साथ कर्म गर्न कविको सुझाव देखिन्छ । परिस्थितिले नेपाली युवायुवतीले देश छोडे तापनि अन्ततः आफ्नै देशको माटोको सुगन्धले तान्नुपर्ने तर्क छ । आफ्नो मातृभूमि, जन्मभूमि नै जीवनको सर्वप्रिय अभिभारा ठानुपर्ने कविको देशप्रेमपूर्ण भावना जागृत भएको पाउन सकिन्छ ।

    देश परिवर्तनको खातिर हजारौं युवाले आफूलाई बली चढाइसके । पुर्खाको इतिहास त इतिहासका पानामा सुरक्षित छ नै । उनीहरूको त्याग, तपस्या, बलिदान नै आजको नेपालको स्वतन्त्रताको बिज हो ।

    जबजब देशका नायकहरू खल चरित्रमा जान्छन् तबतब देशले स्वतन्त्रता सङ्ग्रामका लागि युवाको रगत माग्छ । पछिल्लो समय तानाशाही चरित्रका विरुद्धमा जेन्जी आन्दोलन

    सबैका मानसपटलमा विम्ब बनेको छ । कलिला बालबालिकाहरूले अकालमा ज्यान गुमाउनुपर्‍यो । कविहृदय यस विषयमा भावुक बनेर पग्लिएको देखिन्छ :
    छाँया परेका गल्लीहरूमा
    तिमी घस्रन बाध्य थियौ
    कठोर युग चपाएका
    काठका निर्जीव अनुहारसँगै तिमीलाई बाँधिएको थियो
    जालझेलका अदृश्य डोरीले कसिएको थियो
    दिग्भ्रान्त बनाइएका थियौ तिमी ।
    (सलाम छ जेन्जीलाई  : २८)

    परिवर्तनको खातिर स्वर्णिम भविष्य बोकेका विद्यार्थीका क्रुर हत्याको जीवन्त प्रसङ्ग कवितामा उल्लेख गरिएको छ । आजका बालबालिका नै भविष्यका सच्चा पहरेदार हुन् । विद्यालय पोशाकमा भविष्य निर्माणमा हिँडेका अबोध विद्यार्थी नै रगतको लेपनमा भौतिक शरीर छोडेको ताजा, भयानक दृश्य कवितामा पोखिएको छ । आमाको काख अनि परिवारको भविष्यको सहारा, आशाको किरण निभ्यो । ती निर्दोष अनुहारहरू सधैंका लागि स्वर्णिम संसार छोडेर जानुपर्‍यो । सत्ताको मदले बेहोसी बनेका शासकहरू नै निर्दयी भएर ती कलिला निर्दोष मुनाहरू फूल फुल्न नपाउँदै निमोठिएको यथार्थ, वास्तविक घटनाको चित्रण कवितामा गरिएको छ ।   त्यही कारूणिक विम्ब बोकेको एउटा श्लोक हेरौँ :

    सत्ताको मदले मदहोस शासक
    सिङ्गो देशको भावना भाँच्न खोज्दै
    नयाँ निरो बनेर
    बजाउँदै थियो बेसुरा बाँसुरी
    पोख्दै थियोे आक्रोश
    ओकल्दै थियो कालकूट विष ।
    (रगतको रेखा : ३४)

    संसारका सबै मानिसको अस्तित्व एउटै हुनुपर्ने हो तर हाम्रो कथित सभ्यताले मान्छे अझसम्म पशु बन्नुपरेको यथार्थपरक विषयवस्तु कवितामा उनिएका छन् । माटो खन्ने, ढुङ्गा फुटाउने, घर पर्खाल बनाउने, मूर्ति बनाउने, मन्दिर बनाउने, कपडा सिलाउने त्यही मानव हो तर जसले ती सबै कार्य सप्पन्न गरिसकेपछि ऊ अछूत बन्छ । ऊ निषेधित हुन्छ आफैले निर्माण गरेका वस्तुहरूबाट । छुत र अछूतको सीमारेखा कोरेर युगौंदेखि शोसित, दमित एवम् अत्याचारको सिकार हुन विवश छ । यही ज्वलन्त, यथार्थपरक विम्ब कवितामा उनिएको छ । जसको एक श्लोक यसरी उल्लेख गर्न सकिन्छ :

    माटो खन्यो
    ढुङ्गा फुटायो
    पर्खाल ठड्यायो
    घर बनाइदियो
    बाबजुद, घरमा पस्न पाएन ऊ
    निषेध गरियो उसको लागि
    प्रवेशद्वार
    अछूत भनेर !!
    (कथित सभ्यता : ३८)

    कृतिभित्र सर्जकका थुप्रै अनुभूतिहरू सजिएका छन् । उनको रचनामा देशको स्वाभिमान, अस्तित्व एवम् सीमाको विषयमा गहन चिन्तन भेटिन्छन् । स्वाभिमान र सीमानाकै कुरा गर्ने हो भने नेपाली वीरपुर्खाको इतिहास सायद विश्व इतिहासका पानामा सुरक्षित छ । नेपाली वीरपुर्खाले आर्जन गरेको सीमा अहिले खुम्चिएको छ, दुब्लाएको छ । त्यही खुम्चिएको सीमाना पनि बारम्बार खुम्चिरहनुपर्ने विवशताप्रति सर्जकको कडा आपत्ति छ । जसको एक श्लोक यसरी उतार्न सकिन्छ :

    जनताको स्वाभिमान
    बाध्यता
    विवशता
    फेरिएको पहिचान
    सतलजपारिको हावा
    नेपाली मन लिएर आइपुग्छ
    लिपुलेक नेपालीको छातीमा धड्किन्छ
    ठुला रूखमुनिको बालीझैँ
    अमिलो मन गरेर
    भारतीय झण्डामुनि
    विवश छ चुच्चे नक्साको नेपाल
    (सीमाको आँसु : ४८)

    कृतिभित्र कविमन मात्रै छैन । समाजका अन्याय, अत्याचार, सङ्घर्ष, एवम्  कुण्ठित भावना  आदिको सिङ्गो प्रतिनिधिमूलक भावना उजागर भएका छन् । गुँड छाडेकी चरी कवितामा प्रायः धेरै नेपाली समाजको प्रतिनिधिमूलक नारी वेदना मान्न सकिन्छ । यसमा मानवेत्तर पात्र चरीको वर्णन गरिए तापनि प्रतिकात्मक रूपमा नेपाली नारीको कथा, व्यथालाई अभिव्यञ्जनात्मक रूपमा प्रस्तुत गरिएको छ । श्रीमतीले विवशताले घर छोड्नुपर्दा अथवा सन्तानको भविष्य निर्माणका लागि केही समय परदेश जाँदा श्रीमानले  अर्को श्रीमती  भित्र्याएको, छोराछोरी, घपरिवार, आफन्त, समाज सबैको नजरमा घृणात्मक सोचले ओतप्रोत हुने वातावरण सिर्जना हुने विवशतामय, यथार्थपरक विषयवस्तुको उठान गरिएको छ । यही जञ्जीरले बाँधिएको एउटा श्लोकलाई प्रस्तुत गरौँ :

    परदेशको दुःखमा साटिएको नारी जीवन
    प्रश्नका पर्खालद्वारा चरित्र घेरियो
    लाञ्छनाको झिरले हृदय छियाछिया पारियो
    शङ्काको जालोले ढपक्क ढाकियो
    र मूल्यहीन वस्तुमा रूपान्तरण गरियो ।
    (गुँड छोडेकी चरी : ५७)

    कविले प्रतिकात्मक रूपमा नारीको पीडावोध हुने कारूणिक, हृदयस्पर्शी भावना पाखेकी छन् । वर्तमान परिवेशमा त्यसरी खाडी छिरेको श्रीमानलाई श्रीमतीले पनि रगत, पसिना चुसेर परपुरूषसँग लागेर हराभरा जीवन नै नष्ट गरिदिएको उदाहरण प्रशस्तै पाउन सकिन्छ । समाजका यी घटनाहरूलाई पनि समाधानतर्फ प्रेरित गरे अझै उत्कृष्ट हुने थियो ।
    समयको वहाफसँगै  विश्व निकै अगाडि पुगिसक्यो । शिक्षा, स्वास्थ्य, रोजगारसँगै विभिन्न आविष्कार, परिष्कार गर्दै दिनानुदिन नवीनतम चिन्तनका साथ विश्वभूमण्डलीकरण अग्रस्थानमा छ । विवशताका साथ भन्नुपर्छ हाम्रो नेपाल अझै उही पुरानो रीतिरिवाज, चालचलन एवम् रूढीग्रस्त समाजबाट प्रेरित छ । कथित धर्मका नाममा अझैसम्म रूढीग्रस्त प्रथालाई अङ्गालीरहेका छौँ । जसको फलस्वरूप छाउगोठका नाममा छोरीचेलीले अकालमै जीवन गुमाउनुपरेको तितो यथार्थता छ । प्राकृतिक रूपले हुने रजस्वला, सुत्केरीलाई छाउगोठमा राखेर अमानवीय कर्म गरेकोप्रति सर्जकमा रोस प्रकट गरिएको देख्न सकिन्छ । एउटा उदाहरण हेरौँ :

    परम्पराको आडमा
    रीती र थितिका आडमा
    छोरीलाई श्वास फेर्नसमेत खटन छ
    बर्बर यातनाको मध्ययुगीन कालकोठरी जस्तो
    स्खलित मानवीय चेतनाको प्रतिविम्ब
    (छाउपडीकी छोरी : ६२)

    दासप्रथा त तात्कालिक प्रधानमन्त्री चन्द्रशमशेरले उहिल्यै फ्याँकिसकेका हुन् । अब त नेपालमा दासदासीहरू नहुनुपर्ने हो । जब प्रथा नै हटिसक्यो । अब पनि के को दास प्रथा ? यही प्रश्नले हामी सबैलाई झक्झक्याउँछ । हो, नेपालबाट त दासप्रथा उन्मुलन भइसक्यो । यो इतिहास पढ्दा निकै आनन्द आउँछ । हो, कानुनी रूपमा दासप्रथा हटिसक्यो तर यसले भेष बदलेको हो । धनी, जमिनदार, शोषक, सामन्तीहरूले दासताको स्वरूप बदलेर अझै दास बनाइरहेका छन् । यसको विरुद्धमा कविले यसरी सचेत गराएकी छन् :

    हामी चिच्याउनुपर्छ अझै
    किनकि दासत्व सकिनु
    युद्ध सकिएको भ्रम जस्तै हो
    जसरी
    साम्राज्यवाद व्यापारिक प्रभुत्वमा रूपान्तरण हुन बल गर्छ
    उसैगरी
    दासत्व पनि भेष बदलेर कर्पोरेट यन्त्र बन्न बल गर्छ
    सामाजिक समानताका लागि
    दासत्व सकिनुपर्छ
    मानवताले नजितेसम्म दासत्व भेष बदलेर आइरहन्छ ।
    (दासत्वको भेष : ८०)

    क्रान्ति धेरै भए । क्रान्तिबिज जन्मिए । एउटा सत्तामा गयो क्रान्तिकारी नारा लगाउँदै । जब ऊ सत्ताको कुर्सीमा बस्छ अनि बिर्सिदिन्छ उसले आफ्ना क्रान्तिकारी नाराहरू । जति पनि क्रान्तिकारी र लोकप्रिय  नारा लगाए पनि त्यो सत्ता बाहिर हुँदासम्म मात्रै हो भन्ने यथार्थपरक भावचेतना यस कवितामा पाइन्छ । कुर्सीको अनावश्यक खिचातानीका कारण देशको सुशासन चल्न सक्दैन । देशमा शान्ति, सुरक्षा, अमनचयन, सकारात्मक थिति बस्न सक्दैन । तसर्थ, कविले देशको बागडोर सम्हाल्ने नेतृत्वहरूलाई यसरी सुझाव दिन्छन् :

    जनता तिम्रो भाषण सुन्दैनन्
    उनीहरू तिम्रो जीवन हेर्छन्
    तिम्रो विरोधाभास केलाउँछन्
    अनि तिम्रो नाटक चिन्छन् ।……
    नयाँ नेपाल
    जनताको चेतनाले बनाउँछ
    नयाँ अनुहारले होइन !
    यति बुझ
    जनताले विचारको विगुल फुकेको दिन
    अजेय क्रान्ति सम्पन्न  हुन्छ
    दागी कुर्सी काँप्नेछ
    सत्ता ढल्नेछ
    नयाँ युगको थालनी हुनेछ ।
    (कुर्सीको परीक्षा : ११८)

    अग्निस्पन्दन आगोको स्पर्श हो । कृतिभित्रका हरेक कविताले आगो ओकलेका छन् । गद्य शैलीमा लिपिबद्ध प्रायः सबै कविता समाज रूपान्तरणका संवाहक बनेका छन् । धर्म, संकार, संस्कृति, भूगोल आदिका आधारमा विभिन्न प्रथाहरू बनेका छन् । ती कुरीति, कुप्रथाको जरो उखेल्नु छ । देशका हरेक नागरिकमा सचेत्, सद्भाव, समभाव निर्माण गर्नुछ । यी सबै कार्यमा आगो ओकल्दै सुसंस्कृत समाज निर्माणमा यी काव्यचेतना अझै उन्नत सावित होउन् । कृतिभित्र ५२ ओटा कविता सजिएका छन् । प्रायः सबै कवितामा तागत छ । प्रायः  सबै कविताले लोककल्याणकारी मार्गनिर्देश गरेका छन् । आयाम र संरचनात्मक हिसाबले केही कविताहरू दुर्बोध्य बन्न पुगेका पनि छन् । समग्रमा कल्पना पौडेल जिज्ञासुका कविताले झंकार दिन्छ । अहङ्कार तोड्छ । समाजमा अन्याय, अत्याचार, कुरीति, कुसंस्कार, विभिन्न विभेदलाई चिर्न सहयोग गरेका छन् । ऐरावती प्रकाशन प्रा.लि. काठमाडौँले प्रकाशनमा ल्याएको अग्निस्पन्दनले लाखौँ पाठकको मन जित्न सफल होओस् शुभकामना ।
    मनबहादुर वि.क.
    बाँसगढी न. पा. ३ बर्दिया

    बुधबार, साउन २७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनताको आवाज बनेका जनगायक जीवन शर्मा
    बादल चाम्लिङको अनुवाद कवितासङ्ग्रह ‘नाइटमेयर’ सार्वजनिक
    एल्गोरिदमको पर्दापछाडि
    ‘स्रष्टाका आँखामा प्युठान’ विमोचनसँगै प्रगतिवादी साहित्यकार सिंह सम्मानित
    ‘स्रष्टाका आँखामा प्युठान’ विमोचन हुँदै
    मैले चिन्न नसकेको– ‘को आफ्‌नो, को पराई’

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

    • २.
      राम कार्कीले छाडे प्रगतिशील लोकतान्त्रिक पार्टी

    • ३.
      राजमो गुल्मीका नेता हीरा तरामुको निधन

    • ४.
      लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

    • ५.
      राजमोको बाइसौँ पार्टीस्कुल समापन

    • ६.
      तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुँदै

    भर्खरै

    • १.
      पत्रकार श्रेष्ठलाई पक्राउ गरिएकोमा प्रगतिशीलको विरोध

    • २.
      राजमो गुल्मीका नेता हीरा तरामुको निधन

    • ३.
      लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

    • ४.
      कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

    • ५.
      अग्निसपन्दनको रापताप

    • ६.
      लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

    • ७.
      सर्पले डसेर महिलाको मृत्यु

    • ८.
      ग्यास अभावले खाना पकाउन समस्या भएपछि चितवनमा सहुलियतको खाना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.