नवीन बस्याल,
टोकियो । जापान नेपाली एकता समाज कान्तो क्षेत्रीय समितिको आयोजनामा बिदाइ तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
जापान नेपाली एकता समाज कान्तो क्षेत्रीय समितिका अध्यक्ष गोम बुढाथोकीको अध्यक्षता तथा सचिव ऋषि पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष दयाराम सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा जापान नेपाली एकता समाजका महासचिव धनराज शर्मा प्रमुख अतिथि, रक्तिम सांस्कृतिक अभियानका संस्थापक अध्यक्ष तथा जनगायक जीवन शर्मा विशिष्ट अतिथि, रक्तिमका वरिष्ठ कलाकार तथा बाँसुरीवादक खडक पुन, साथै नेपालबाट भ्रमणका लागि जापान आउनुभएका खिमा बस्याल र लीलावती पौडेलको आतिथ्यता रहेको थियो ।
एकमहिने सांगीतिक भ्रमणका लागि जापान प्रस्थान गर्नुभएका रक्तिम सांस्कृतिक अभियानका संस्थापक अध्यक्ष तथा जनगायक जीवन शर्माले जीवनका दशकौँ समय देश र जनताप्रति समर्पित गर्दै गीत–संगीतका माध्यमबाट पुर्याउनुभएको योगदानको मूल्याङ्कन गर्दै जापान नेपाली एकता समाज कान्तो क्षेत्रीय समितिले सम्मान तथा बिदाइ गरेको हो ।
त्यस्तै, नेपालबाट जापान भ्रमणमा रहनुभएका जापान नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा रक्तिम सांस्कृतिक अभियानका कलाकार नवीन बस्यालकी ममतामयी आमा खिमा बस्याल तथा जापान नेपाली एकता समाज कान्तो क्षेत्रीय समितिका उपाध्यक्ष यामप्रसाद पौडेलकी ममतामयी आमा लीलावती पौडेललाई पनि क्षेत्रीय समितिले सम्मान गरेको थियो । उहाँहरूको जापान भ्रमण ऐतिहासिक तथा सुखद रहोस् भन्ने शुभकामनासहित सम्मान गरिएको हो ।
कार्यक्रममा जनगायक जीवन शर्माले जीवनका विभिन्न कालखण्डमा लेख्नुभएका तथा जनजीवनसँग जोडिएका दर्जनौँ लोकप्रिय गीत प्रस्तुत गर्नुभएको थियो। उहाँले ‘जनताको गीत’, ‘मधेशी पहाडी’, ‘झरनाको चिसो पानी’, ‘म हिँडेको गाउँको बाटो मुस्कुरायो’, ‘डुल्छु दुनिया संसार’, ‘फोकल्यान्ड टापुबाट’, ‘सिमली छायाँमा बसी’, ‘यसपाली त यस्तै भो आमा’ लगायतका गीत प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी, रक्तिम सांस्कृतिक अभियान जापानका कलाकारहरू नवीन बस्याल, खडक पुन, रुद्रमणि निउरे, दानु सारू, निरु सिंजाली, एलिशा पुन, कमला बस्याललगायतले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वरिष्ठ बाँसुरीवादक खडक पुनले जनगायक जीवन शर्माका लोकप्रिय गीत ‘सिमली छायाँमा बसी’ र ‘झरनाको चिसो पानी’ लगायतका गीतका बाँसुरी धुन प्रस्तुत गर्नुभएको थियो। उहाँका भावपूर्ण बाँसुरी धुनले कार्यक्रममा उपस्थित दर्शकलाई भावुक बनाएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जापान नेपाली एकता समाजका महासचिव धनराज शर्माले जनगायक जीवन शर्माका गीतहरूले नेपाली समाजमा जनजागरण तथा परिवर्तनको चेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले भन्नुभयो, “जीवन शर्माको यही योगदानको सम्मान गर्दै उहाँसँग वैचारिक तथा सांगठनिक सम्बन्ध राख्ने जापान नेपाली एकता समाजले उहाँप्रति सम्मान व्यक्त गरेको हो। यो सम्मान हाम्रो संगठनको मूल उद्देश्य जनजागरण, सामाजिक न्याय र परिवर्तनसँग जोडिएको छ ।”
महासचिव शर्माले जीवन शर्माले आफ्नो जीवनभर परिवर्तनका गीत गाउँदै जनताको चेतना अभिवृद्धिमा योगदान पुर्याएको उल्लेख गर्दै उहाँका गीत–संगीतका कारण आज नेपाली समाजमा हिजोको तुलनामा यस्ता गीत–संगीत सुन्ने र परिवर्तन आवश्यक छ भन्ने चेतनाको विकास हुँदै गएको बताउनुभयो ।
कार्यक्रमको अन्त्यमा कार्यक्रमका अध्यक्ष तथा जापान नेपाली एकता समाज कान्तो क्षेत्रीय समितिका अध्यक्ष गोम बुढाथोकीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।
