विराटनगर, २५ साउन । कोशी प्रदेशमा सत्ता सहकार्यका लागि सहमति गरेका नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच मन्त्रालय बाँडफाँटको विषय पेचिलो बन्दै गएको छ। प्रदेश सरकारमा रहेका ९ मन्त्रालयमध्ये नेकपाले ४ मन्त्रालयमा दाबी गरेपछि दुई दलबीच भागबन्डाको विषयमा मतभेद देखिएको हो ।
नेकपाले सरकारमा आफ्नो दलको सहभागिता वर्तमान सरकारमा कांग्रेसले पाएको हिस्साकै आधारमा हुनुपर्ने दाबी गरेको छ। तर, एमाले भने नेकपालाई बढीमा ३ मन्त्रालय दिन सकिने अडानमा छ।
नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमालेसँग सत्ता सहकार्यका लागि आफ्नो दलले ४ मन्त्रालयको दाबी प्रस्तुत गरेको बताए। “हामीले ४ वटा मन्त्रालय भनेका छौं। उहाँहरूको कुरा मिडियामा सुनेको हो,” आङ्बोले भने, “औपचारिक छलफल भने अघि बढेको छैन।”
हाल कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसका ४ मन्त्री र एक राज्यमन्त्री छन्। सोही आधारमा नेकपाले पनि सरकारमा समान हैसियतको सहभागिता हुनुपर्ने दाबी गर्दै आएको छ।
