काठमाडौं, २४ साउन । नेपालमा आयोजना गर्न सरकारले रोक लगाएको १७औँ तिब्बती अध्ययन सम्मेलन अब भर्चुअल माध्यमबाट हुने भएको छ। आयोजक संस्था इन्टरनेसनल एसोसिएसन फर तिब्बेतेन स्टडिज (आएटीए) को बोर्डले पूर्वनिर्धारित मिति अगस्ट २३ देखि २९ सम्म सम्मेलन अनलाइनमार्फत सञ्चालन गर्ने निर्णय गरेको हो।
नेपालको सहआयोजक काठमाडौं विश्वविद्यालयअन्तर्गतको हिमालय सेन्टर फर एसियन स्टडिज तथा सेन्टर फर बुद्धिस्ट स्टडिजले सम्मेलनबाट हात झिकेपछि क्ष्ब्त्क् ले कार्यक्रमको जिम्मेवारी आफैं लिएको जनाएको छ।
आयोजकका अनुसार अगस्ट ७ मा बसेको आकस्मिक बैठकले १७औँ सम्मेलनलाई अनलाइन कार्यक्रमका रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो। सहभागीहरूले आफू रहेकै स्थानबाट शोधपत्र तथा प्रस्तुति प्रस्तुत गर्न सक्नेछन्।
तिब्बती मामिलाको संवेदनशीलताका कारण चीनको चासोसमेत जोडिएपछि नेपाल सरकारले सम्मेलन रोक्न निर्देशन दिएको थियो । मुख्यसचिव गोविन्दबहादुर कार्की र परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले काठमाडौं विश्वविद्यालयलाई कार्यक्रम अघि नबढाउन निर्देशन दिएको आयोजकले जनाएको छ। यद्यपि, हालसम्म सरकारबाट सम्मेलन रोक्नेसम्बन्धी लिखित सूचना प्राप्त नभएको आएटीएको भनाइ छ।
सन् २०२३ मै काठमाडौं विश्वविद्यालयसँग सम्मेलन आयोजना गर्ने सहमति भएको र तीन वर्षदेखि तयारी भइरहेको आयोजकले जनाएको छ। ७०० भन्दा बढी सहभागीले दर्ता, हवाई टिकट तथा होटल बुकिङ गरिसकेको भन्दै आयोजकले कार्यक्रम रोकिँदा आर्थिक तथा प्रतिष्ठासम्बन्धी क्षति भएको दाबी गरेको छ।
आएटीएले अगस्ट ६ मा शिक्षामन्त्री सस्मित पोखरेललाई पत्र पठाउँदै सम्मेलन आयोजना गर्न सहजीकरण गरिदिन आग्रह गरेको थियो । तर, अपेक्षित सहयोग नपाएपछि सम्मेलन अनलाइनबाटै गर्ने निर्णय गरिएको हो।
क्ष्ब्त्क् का अनुसार ४७ वर्षको इतिहासमा एसिया, युरोप र उत्तर अमेरिकामा १६ वटा सम्मेलन आयोजना भइसकेका छन्। ती सम्मेलनहरू विशुद्ध शैक्षिक प्रकृतिका रहेको आयोजकको दाबी छ।
