काठमाडौं । अमेरिकी सरकारले अध्ययन पूरा गरेपछि अमेरिकामै काम गर्न चाहने विदेशी विद्यार्थीका लागि १ लाख अमेरिकी डलर शुल्क लगाउने तयारी गरेको छ।
वाल स्ट्रिट जर्नलका अनुसार प्रस्तावित शुल्क ‘अप्शनल प्राक्टिकल ट्रेनिङ’ (ओपिटी) कार्यक्रममा लागू गर्ने तयारी भइरहेको छ। ओपिटीमार्फत अन्तर्राष्ट्रिय विद्यार्थीले अध्ययन पूरा गरेपछि विद्यार्थी भिसामै विषयसम्बन्धी क्षेत्रमा १ देखि ३ वर्षसम्म काम गर्न पाउँछन्।
सन् २०२४ मा करिब ४ लाख १९ हजार विदेशी विद्यार्थी ओपिटीअन्तर्गत अमेरिकामा कार्यरत थिए। नयाँ शुल्क लागू भएमा अमेरिकामा उच्च शिक्षा लिन आउने विदेशी विद्यार्थीको सङ्ख्या घट्न सक्ने अनुमान गरिएको छ।
प्रस्तावलाई ट्रम्प प्रशासनको आप्रवासनसम्बन्धी कडाइको नीतिको हिस्साका रूपमा हेरिएको छ। यसबाट विदेशी विद्यार्थीमा निर्भर अमेरिकी विश्वविद्यालयको आम्दानीमा असर पर्नुका साथै प्रविधि र वित्तीय क्षेत्रमा दक्ष जनशक्ति अभाव हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।
यसअघि सरकारले एच–१बी भिसामा पनि १ लाख डलर शुल्क लगाउने प्रयास गरेको थियो। तर अदालतले उक्त शुल्क कार्यान्वयनमा रोक लगाएको थियो।
ओपिटी शुल्कसम्बन्धी प्रस्तावमा अमेरिकी गृह सुरक्षा विभागमा अझै छलफल भइरहेको छ। शुल्क विद्यार्थी वा रोजगारदातामध्ये कसले तिर्ने भन्ने विषयसमेत स्पष्ट भइसकेको छैन।
