काठमाडौं । काठमाडौंमा भदौ ७–१३ गते आयोजना हुने तय भएको तिब्बती अध्ययनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सरकारले अन्तिम समयमा रोक लगाएको छ। चार वर्षअघि नै तय गरिएको उक्त सम्मेलनमा ३९ देशका तिब्बत मामिला विज्ञ, प्राध्यापक तथा अनुसन्धानकर्ताको सहभागिता अपेक्षित थियो।
सरकारी स्रोतका अनुसार परराष्ट्र सचिवसँगको परामर्शपछि मुख्यसचिवले काठमाडौं विश्वविद्यालयलाई कार्यक्रम स्थगित गर्न निर्देशन दिएका थिए। सुरक्षा निकायले प्रत्यक्ष सुरक्षा खतरा नरहेको निष्कर्ष निकाले पनि चीनको कूटनीतिक चासो र दबाबपछि सरकार निर्णयबाट पछि हटेको बताइएको छ।
आयोजकहरूले सम्मेलन विशुद्ध प्राज्ञिक कार्यक्रम भएको, तिब्बत पक्षीय वा चीनविरोधी गतिविधिलाई स्थान नदिने प्रतिबद्धता जनाइसकेको दाबी गरेका छन्। सम्मेलन रद्द गर्ने निर्णय अप्रत्याशित भएको भन्दै काठमाडौं विश्वविद्यालय आयोजकको भूमिकाबाट पछि हटेको छ।
अब सम्मेलन कहाँ र कहिले आयोजना गर्ने भन्ने निर्णय तिब्बती अध्ययनका लागि अन्तर्राष्ट्रिय संघ (आईएटीएस) ले गर्ने जनाइएको छ।
