काठमाडौँ । सुनसरीको कप्तानगञ्जमा आइतबार राति भएको घटनाको असर सिराहा र जनकपुरसम्म फैलिएको छ, यद्यपि कप्तानगञ्ज तुलनात्मक रूपमा शान्त छ । त्यस क्रममा सिराहामा एक जनाको मृत्यु भएको छ ।
बुधबार शान्त देखिएको मधेस प्रदेशमा बिहीबार पुन: अशान्ति देखिएको छ । यसपटक सुनसरीमा नभएर सिराहा र जनकपुरमा समस्या देखिएको हो ।
सिराहामा एक जनाको मृत्यु
सिरहामा भएको झडपका क्रममा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका औरही गाउँपालिकाका अन्दाजी १५ वर्षीय गणेश यादवको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सहायक सिडिओ चेतराज बरालले जानकारी दिए ।
‘मृत्यु भएको भन्ने खबर आएको छ । औरही गाउँपालिका–२ का गणेश यादवको निधन भएको खबर हामीले पाएका छौँ’ सहायक सिडिओ बरालले भनेका छन् ।
अहिले सो क्षेत्रमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । उनका अनुसार थप विवरण भने आउन बाँकी छ । सिरहाका विभिन्न क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको छ ।
झडपमा दुई जना घाइते
सिरहामा दुई पक्षबिच झडप हुँदा दुई जना घाइते भएका छन् । सुनसरीमा भएको दुई समुदायबिचको भडपको असर अन्य जिल्लामा परेको हो । स्थिति अशान्त बनेसँगै स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ ।
कफ्र्यु आदेश जारी भए पनि प्रदर्शन जारी छ । आगजनी र तोडफोड हुन थालेपछि प्रहरीले गोली चलाएको छ ।
प्रदर्शनका क्रममा दुई जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि स्थानीय अस्पताल पुर्याइएको छ ।
केही बेरअघि प्रदर्शनकारीले एक मोटरसाइकल ग्यारेजका मोटरसाइकल निकालेर आगजनीसमेत गरेका थिए । आगजनीका कारण ११ ओटा मोटरसाइकल नष्ट भएको प्रहरीले जनाएको छ ।
सिरहाको गोलबजारमा तनाव
सुनसरीको देवानगञ्ज नगरपालिकामा भएको घटनाको विरोधमा सिरहामा भएको प्रदर्शन चर्किएको छ । बिहीबार गोलबजारको अवस्था तनावग्रस्त बन्दै गएको छ ।
गोलबजारमा अहिले दुई पक्षबिच झडप भइरहेको छ । अवस्था नियन्त्रणमा लिनका लागि जिल्ला प्रशासन कार्यालयले कफ्र्यु आदेश जारी गरिसकेको छ ।
मोटरसाइकलमा आगजनी
सुनसरीको कप्तानगञ्जको घटनाको प्रभाव सिरहामा पनि परेको छ । सिरहा दुई समूहबिच झडप भएको छ । यहाँ ११ ओटाभन्दा धेरै मोटरसाइकलमा आगजनी भएको छ । सबै नष्ट भएका छन् ।
गोलबजार नगरपालिकाको दमकलको प्रयोगले आगलागी नियन्त्रणमा लिइएको छ । त्यस क्षेत्रमा स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरे पनि सडकमा प्रदर्शन रोकिएको छैन ।
लहान क्षेत्रमा पनि कफ्र्यु
सिरहाको लहान क्षेत्रमा पनि कफ्र्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले जारी गरेको विज्ञप्तिअनुसार दिउँसो ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कफ्र्यु आदेश जारी भएको हो ।
यसअघि पूर्वपश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका–३ को कसहा खोलादेखि पश्चिमतर्फ चोहर्वा चोक, उत्तरतर्फ गोलबजार–६ सैनिक चोकदेखि दक्षिणतर्फ गोलबजार–४ को क्षेत्रमा कफ्र्यू जारी गरिएको थियो ।
प्रशासनले अर्को सूचना जारी गर्दै लहान क्षेत्रमा पनि कफ्र्यु आदेश जारी भएको जनाएको छ । प्रशासनका अनुसार लहान नगरपालिकाको पूर्वपश्चिम राजमार्गको पूर्वतर्फ बलान खोलासम्म, पश्चिमतर्फ सरस्वति खोला (बाटिका होटल पश्चिम) सम्म र दक्षिणतर्फ पूर्व–पश्चिम राजमार्गको पाँच सय मिटर क्षेत्रसम्म वरिपरिको क्षेत्रमा कफ्र्यु लगाइएको छ ।
जनकपुरमा पनि कफ्र्यु
जनकपुरमा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर उपमहानगरपालिकाभित्र कफ्र्यु आदेश जारी गरेको छ । प्रशासनले बिहीबार दिउँसो साढे ३ बजेदेखि अनिश्चितकालका लागि कफ्र्यु आदेश जारी गरेको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जनकपुरधाम उपमहानगरपालिका सबै भाग, लक्ष्मीनिया गाउँपालिका र नगराइन नगरपालिका क्षेत्रका विभिन्न क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको बताए ।
अर्का घाइतेको पनि मृत्यु
सुनसरीको कप्तानगञ्ज घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । विराटनगरको न्युरो अस्पतालमा उपचाररत देवानगञ्ज गाउँपालिका–३ का २२ वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको हो ।
प्रहरीको गोली लागेर घाइते भएका उनको उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो । योसँगै सुनसरीको कप्तानगञ्ज घटनामा मृत्यु हुनेको सङ्ख्या दुई जना पुगेको छ ।
यसअघि कप्तानगन्जमा प्रहरीले चलाएको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भइसकेको छ । आइतबारको घटनामा आठ जना प्रदर्शनकारी घाइते भएका थिए । प्रहरीतर्फ पनि ८ जना घाइते भएका थिए ।