हङकङ । संयुक्त राज्य अमेरिका–इरान सैन्य तनावमा विरामसँगै युद्धविराम र रणनीतिक ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालनबारे वार्ता अघि बढ्ने आशा पलाएको छ । यससँगै सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा भारी गिरावट आएको छ ।
इरानमा १३ दिनसम्म आक्रमण गरेपछि अमेरिकाले सप्ताहन्तमा सैन्य कारबाही रोकेको थियो । अमेरिकी राष्ट्रपतिका विशेष दूतले राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताका लागि केही समय र अवसर दिनुभएको बताउनुभएको छ ।
यसको प्रतिक्रियामा इरानले पनि क्षेत्रीय मुलुकमाथि गरिरहेका प्रतिशोधात्मक आक्रमण रोक्ने घोषणा गरेको छ । घटनाक्रमले खाडी क्षेत्रमा पानीजहाजको आवतजावत तथा तेल उद्योगलाई केही राहत दिएको छ ।
इरानले ‘स्ट्रेट अफ हर्मुज’को ओमानी जलक्षेत्र हुँदै जाने पानीजहाजमाथि आक्रमण गरेपछि तनाव थप चर्किएको थियो । त्यसपछि कमजोर युद्धविराम भङ्ग हुँदै यसै महिना अमेरिका र इरानबीच पुनः सैन्य गतिविधि सुरु भएको थियो ।
तनावका कारण वासिङ्टन र तेहरानबीचको कूटनीतिक प्रयास प्रभावित भएको थियो । द्वन्द्व ‘स्टे«ट अफ हर्मुज’भन्दा बाहिरसमेत फैलिँदा इरानसमर्थित हुथी विद्रोहीले लालसागर प्रवेश गर्ने प्रमुख मार्ग बाब अल–मन्देब जलक्षेत्रमा साउदी पानीजहाजमाथि आक्रमण गरेका थिए ।
तनाव चर्किएसँगै कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको थियो । गत साता ब्रेन्ट कच्चा तेलको मूल्य मे यताकै पहिलोपटक प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको थियो । यद्यपि, लाल सागरमा पानीजहाजको आवतजावत जारी रहेको समाचारले शुक्रबार लगानीकर्ताको चिन्ता केही कम गरेको थियो ।
अमेरिकाले थप आक्रमण नगर्ने निर्णय गरेपछि तथा ‘स्ट्रेट अफ हर्मुज’को व्यवस्थापनबारे ओमानसँगको वार्तामा प्रगति भएको इरानले आइतबार बताएपछि तेल बजारमा थप राहत देखिएको हो ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकायीका अनुसार वार्ता दुवै देशको सार्वभौम अधिकारको सम्मान गर्दै ‘स्ट्रेट अफ हर्मुज’बाट पानीजहाजको सुरक्षित आवतजावत सुनिश्चित गर्ने ‘साझा सिद्धान्त र सञ्चालन संयन्त्र’ निर्माणमा केन्द्रित थियो ।
यसैबीच, चीनको पहलमा पाकिस्तानले अमेरिका–इरानबीच शान्ति वार्ता पुनः सुरु गराउने प्रयास गरिरहेको एक प्रतिवेदनमा उल्लेख छ ।
सोमबार दुवै प्रमुख तेल सम्झौताको मूल्य घटेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य एक समय सात प्रतिशतभन्दा बढीले घटेर प्रतिब्यारेल ९० अमेरिकी डलरभन्दा तल झरेको थियो ।
नेसनल अस्ट्रेलिया बैङ्ककी स्याली अल्डले सप्ताहन्तमा मध्यपूर्वमा देखिएका घटनाक्रम सकारात्मक दिशामा अघि बढेको बताउँदै प्रतिब्यारेल १०० डलरभन्दा माथिको तेल मूल्यले दुवै पक्षलाई तनाव कम गर्ने दिशामा अघि बढ्न प्रेरित गर्ने धारणा बलियो बनेको उल्लेख गर्नुभएको छ ।
तेलको मूल्य घटेसँगै मुद्रास्फीति पुनः बढ्ने तथा ब्याजदरमा थप वृद्धि हुने चिन्ता केही कम भएको छ । यसले अधिकांश एसियाली सेयर बजारमा सकारात्मक प्रभाव पारेको छ ।
यद्यपि, कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा भइरहेको तीव्र वृद्धि दिगो हुने–नहुने तथा त्यस क्षेत्रमा भइरहेको ठूलो लगानीको प्रतिफलबारे लगानीकर्ताको चिन्ता कायमै छ । प्रविधि कम्पनीका सेयरमा यसको प्रभाव बढी देखिएको छ ।
सियोलको सेयर बजारमा एक प्रतिशतभन्दा बढी गिरावट आएको छ । चिप निर्माता एसके हाइनिक्स र सामसुङ बिक्रीको दबाबमा परेका छन् । ताइपेई र सिङ्गापुरका बजार पनि घटेका छन् ।
इन्डोनेसियाली केन्द्रीय बैङ्कका प्रमुख पेरी वारजियोले व्यक्तिगत कारण देखाउँदै अप्रत्याशित रूपमा राजीनामा दिएपछि जकार्ताको सेयर बजारमा पनि गिरावट आएको छ ।
लगानीकर्ताले यस साता एसके हाइनिक्स, सामसुङ र जापानको किओक्सियाका आम्दानी प्रतिवेदनको प्रतीक्षा गरिरहेका छन् । अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्ट, मेटा, एप्पल र अमेजनका आम्दानी प्रतिवेदनमा पनि लगानीकर्ताको ध्यान केन्द्रित रहनेछ ।
कम्पनीहरूले आगामी दिनमा गर्ने लगानी तथा पुँजीगत खर्च र त्यसबाट प्राप्त हुने प्रतिफलबारे लगानीकर्ताले विशेष चासो राखेका छन् ।
यसैबीच, अमेरिका–इरान तनाव तथा मुद्रास्फीति घट्दै गएको सङ्केत गर्ने पछिल्ला तथ्याङ्कको पृष्ठभूमिमा अमेरिकी फेडरल रिजर्भको आगामी नीतिगत निर्णयमा पनि लगानीकर्ताको ध्यान केन्द्रित भएको छ ।
बुधबार हुने बैठकमा फेडरल रिजर्भले ब्याजदरलाई यथावत् राख्ने अपेक्षा गरिएको छ । यद्यपि, वर्षको अन्त्यसम्ममा मौद्रिक नीति थप कसिलो बन्न सक्ने अनुमानसमेत गरिएको छ ।
कम्पनीगत समाचारमा चीनको अग्रणी मेमोरी चिप निर्माता सीएक्सएमटीको सेयर साङ्घाईमा कारोबार सुरु भएको पहिलो दिन ४७० प्रतिशतसम्म बढेको छ । केही समयका लागि यसले औद्योगिक तथा वाणिज्यिक बैङ्क अफ चाइना (आइसीबीसी) लाई पछि पार्दै चीनको मुख्य भूमिमा सबैभन्दा बढी बजार मूल्य भएको कम्पनी बनेको थियो ।
ब्लुमबर्ग न्युजका अनुसार आन्हुईमा मुख्यालय रहेको सीएक्सएमटीले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) मार्फत नौ अर्ब ८० करोड अमेरिकी डलर जुटाएको थियो । यो चीनको मुख्य भूमिमा हालसम्मकै ठूलो प्रविधि कम्पनीको आईपीओ भएको जनाइएको छ ।