काठमाडौँ । भारतमा कक्रोच जनता पार्टी (सिजेपी) को अगुवाइमा जारी आन्दोलनबाट अन्तत: भारतीय सरकार झुक्दै शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन् ।
प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर सिजेपीले गत एक महिनादेखि चलाएको आन्दोलनको क्रममा आज २०८३ साउन ९ गते उनले राजीनामा दिएका हुन् ।
सामाजिक सञ्जालमार्फत् राजीनामा दिँदै प्रधानले लेखेका छन्– “जन्तरमन्तरमा र देशमा जुन परिस्थिति सिर्जना भएको छ; त्यसको फाइदा देश विरोधी शक्तिले नउठाउन्; देशको एकता कायम रहोस् र भारतका एउटा पनि विद्यार्थीको भविष्य कानुनी उल्झनमा नपरोस् ।”
उनले अगाडि लेखेका छन्– “हाम्रा बच्चाहरूले आफ्नो समय अध्ययनमा लगाउन्, करिअरमा ध्यान दिउन् । यिनै कुरामा विचार गर्दै मैले आफ्नो राजीनामापत्र सम्माननीय प्रधानमन्त्रीलाई पठाएको छु ।”
यस सन्दर्भमा प्रतिक्रिया दिँदै दसिजेपीका संस्थापक अभिजित दिपकेले भनेका छन्– “हामीले गरेर देखायौँ । धर्मेन्द्र प्रधानले राजीनामा दिए ।”
“धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । यो यदि तपाईं डराउनुहुन्न भने, यदि तपाईं यस सरकारको अगाडि झुक्नुहुन्न भने, तपाईं जोकोहीलाई पनि राजीनामा दिलाउन सक्नुहुन्छ भन्ने प्रमाण हो । लोकतन्त्रमा डराउनु पर्दैन” दिपकेले थप लेखेका छन् ।
यसअघि भारतका कङ्ग्रेस आईसहितका सबै विपक्षी दलहरू उनको राजीनामाको पक्षमा उभिएका थिए भने सामाजिक अभियन्ता सोनाम वाङचुकले आमरण अनशन सुरु गरेका थिए ।