नयाँ दिल्ली, साउन २ (एजेन्सी) । जन्तर–मन्तरमा आमरण अनशनरत जलवायु अभियन्ता तथा शिक्षाविद् सोनम वाङ्चुकलाई दिल्ली प्रहरीले शनिबार बिहान उपचारका लागि अस्पताल लगेको घटनापछि आन्दोलन थप चर्किएको छ ।
वाङ्चुकलाई प्रहरीले जबर्जस्ती अस्पताल लगेको आरोप लगाउँदै आन्दोलनका समर्थक अभिजीत दीपकेले स्वयं आमरण अनशन सुरु गर्ने घोषणा गरेका छन्। उनले अब आन्दोलनलाई प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामाको मागसम्म विस्तार गर्ने चेतावनी दिएका छन् ।
दीपकेले सरकारमाथि विद्यार्थीमाथि अन्याय गरेको आरोप लगाउँदै आन्दोलन दबाउने प्रयास लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको बताए। उनले सरकारको कदमलाई ‘तानाशाही प्रवृत्ति’ को संज्ञा दिँदै लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शनलाई बल प्रयोग गरेर रोक्न खोज्नु अस्वीकार्य रहेको उल्लेख गरे ।
उनले देशभरका नागरिक तथा विद्यार्थीलाई आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै जन्तर–मन्तरमा उपस्थित हुन आह्वान पनि गरेका छन् ।
उल्लेखनीय छ, सोनम वाङ्चुक गत असार २८ देखि अनिश्चितकालीन आमरण अनशनमा बसेका थिए । उनी २०२६ को NEET UG परीक्षामा भएको भनिएको अनियमितताको निष्पक्ष छानबिन तथा सम्बन्धित पक्षलाई जवाफदेही बनाउनुपर्ने मागसहित आन्दोलनरत छन्। शनिबार बिहान स्वास्थ्य अवस्था कमजोर भएपछि दिल्ली प्रहरीले उनलाई अस्पताल भर्ना गरेको बताइएको छ ।
